१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नुवाकोटको शिवपुरीमा कांग्रेसको भ्रातृ संस्थाको अधिवेशन गाउँपालिकाको कार्यालयमा

२३ जेठ, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको कार्यालय पनि नेपाली कांग्रेसले पार्टी कार्यालयको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । विगत पाँच वर्षदेखि नै शिवपुरी गाउँपालिकाको कार्यालयमा कांग्रेसका गतिबिधि सञ्चालन गर्दै आएको नेपाली कांग्रेसले आइतबार कांग्रेसको भ्रातृ संस्था नेपाल शिक्षक संघको अधिवेशन सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले सम्बोधन गरेको अधिवेशनले दामोदर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सरकारी सुविधामा पाएको निवासमा नेताहरू नै सार्वजनिक पद धारण गरेर बसेको बेलामा राजनीतिक रूपमा दुरूपयोग हुनु नौलो नभए पनि कार्यपालिकाको कार्यालय नै नियन्त्रणमा लिएर पार्टीको गतिबिधिमा प्रयोग गर्नु नौलो हो ।

यद्यपी नुवाकोटमै यसअघि तादी गाउँपालिकाको कार्यालयमा पनि त्यहाँका अध्यक्ष सन्तमान तामाङले कांग्रेसको भ्रातृ संस्था शिक्षक संघकै अधिवेशन सम्पन्न गराइसकेका छन । गाउँपालिकाको प्रशासनीय भवननै पार्टीहरूले कब्जा गरेर राजनीतिक गतिबिधि सञ्चालन गर्न थालेपछि त्यहाँबाट सम्पूर्ण नागरिकले कसरी सेवा पाउँछन भन्ने प्रश्न उठेको छ ।

पार्टीका गतिबिधिमा प्रशासनिक संरचनाको दुरूपयोग बढ्यो भने गाउँ पसेका सिंहदरबारले नागरिकलाई घर आँगनमा सेवा भन्दा बढी राजनीतिक पूर्वाग्रहको व्यवहार दिनेहुसक्छ त्यसकारण यस विषयमा समयमै सचेत हुनुपर्छ । दलका नेताहरूले प्रशासनीक भवनमा ठूलो आवजमा भाषण गर्न थालेपछि त्यहाँका कर्मचारीको ध्यान नागरिकको सेवा प्रवाहमा कसरी जाला यावत प्रश्नहरू उठेका छन ।

गाउँपालिका अध्यक्ष थपलियाले शिक्षकहरूको अधिवेशनमा शिक्षकहरूले कांग्रेसको संगठन राम्रोसँग नगर्ने हो भने आगामी चुनाव धेरै परको विषय हुने बताएका छन । उनले स्थानीय चुनावमा पनि मुस्किलले तीन जना उछिटिएर आएको भन्दै कसले कसले सहयोग गरेको र क कसले असहयोग गरेको छ भनेर आफूले रेकर्ड नै राखेको बताएका छन ।

गाउँपालिकाको कार्यालयको प्रशासनिक भवनमा कुनै पनि पार्टीको राजनीतिक गतिबिधि गर्न नदिने गरी अबको कार्यापालिका बैठकले निर्णय गर्ने र त्यो कार्यान्वयनमा पनि ल्याउने गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङले जानकारी दिए । उनले विगतमा पनि पार्टीहरूले भवनको प्रयोग गरेको पाइएको भन्दै अबको दिनमा त्यसो हुन नदिने बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार २२:३९