फोहर व्यवस्थापन छाडेर “बन्चरेडाँडा” फिल्म बनाउँदै सरकार, रामकुमारीको उपस्थितिमा शुभमुहूर्त !
२२ जेठ, काठमाडौँ । काठमाडौँका सडक र गल्लीमा असरल्ल फालिएका फोहरको व्यवस्थापन छाडेर सरकार समेत “बन्चरेडाँडा” फिल्म बनाउन होमिएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा आइतबार फिल्म “बन्चरेडाँडा” को शुभमुहूर्त भएको छ ।
सरकार समेतको सहयोगमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)को जोडीले फिल्म बनाउन लागेको हो । आइतबार सामाजिक सञ्जाल मार्फत मन्त्री झाँक्रीले फिल्मको शुभमुहूर्त भएको जानकारी दिँदै मह जोडीलाई सफलताको शुभकामना दिएकी छिन ।
फिल्मले फोहरलाई स्रोतमै बर्गिकरण गरेरमात्र नुवाकोटको बञ्चरेडाँडामा पुर्याउने विषयमा सन्देश दिनेछ । स्रोतमा बर्गिकरण नभएका फोहर सरकारले उठाउनेबारेमा पनि त्यसमा सचेतना दिइनेछ । काठमाडौँ महानगरका नयाँ मेयर बालेन्द्र साहले पनि काठमाडौँको फोहोर स्रोतमै बर्गिकरण गरेरमात्र खोखरपैवा पुर्याउनुपर्ने बताउँदै आएको छ । महजोडीको मह सञ्चारले विभिन्न संस्थाहरूको सहयोगमा चेतनामुलक फिल्म र बृतचित्र बनाउँदै आएको छ ।
प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १२:४२