११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

कोरोना महामारीपछि विश्वमै पहिलो पटक अष्ट्रेलियाको डार्विनमा नेपाल फेस्टिवल हुँदै

२० जेठ, अष्ट्रेलिया । अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा जुन ४ शनिवार हुन लागेको नेपाल फेस्टिवलको तयारी पुरा भएको छ । नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल फेस्टिवलको आयोजना गरिएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नर्दन टेरोटेरीका संयोजक विष्णु चापागाईले बताए ।

उनले विश्वसामु नेपाल र नेपालीको पहिचान लाई चिनाउने एनआरएनएको लक्ष्य भएकाले पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड र तराईसम्मका विविध कला, संस्कृति र भेषभुसाहरू झल्काउने प्रयास स्वरुप नेपाली विभिन्न परम्परा, चाडपर्व, धर्म र संस्कृतिहरुको जगेर्ना गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको बताए ।

शनिवार दिनको ३ बजेदेखि राती ९ वजेसम्म हुने फेस्टिवलमा दर्शकहरुले नेपाल झल्किने नेपाली ढुङ्गेधारा र धरहरा सहितको नेपाल हाउस हेर्दै नेपाली चियाको स्वाद चाख्न पाउने संयोजक चापागाईले बताए । उनले कोरोना महामारी पछिको अष्ट्रेलिया मात्र नभएर विश्वकै पहिलो नेपाल फेस्टिबल भएको बताए ।

फेस्टिवलमा नेपाली खानाको परिकारको स्टल, रिङ्ग गेम राखिनेभएको छ । नेपाली गित संगितको प्रस्तुति रहे संगै नेपाली चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रिभुलेसनले आफ्ना प्रस्तुतिहरु दर्शक माझ राख्ने भएका छन् । डार्विनको वाटरफ्रन्टमा आयोजना हुने कार्यक्रममा फायर वक्स समेत हुनेछ ।

सामाजिक अगुवा भवानी पौडेलले नर्दन टेरोटेरी सरकार समेतको सहयोगमा नेपाली समुदायको सक्रिय सहभागीका विचमा हुन लागेको फेस्टिवलले नर्दन टोरोटेरीमा नेपाल र नेपालीहरुलाइ परिचित गराउने बताए |

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १४:१६