कबड्डी-४ः काजीको बिहे बाहेक छैन कुनै सन्देश र फ्लेवर
१७ जेठ, काठमाडाैँ । ‘कबड्डी-४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । मणिराम पोखरेल र बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका छ । यद्यपी फिल्ममा काजीको बिहे बाहेक कुनै नयाँ फ्लेवर र सन्देश रहेको छैन । कबड्डी कबड्डी-४ हेरेपछि पत्रकार रामचन्द्र भट्टले दिएको प्रतिक्रिया यहाँ प्रस्तुत गरेका छाैँ ।
– नेपाली केहि निर्देशक, निर्माताका फिल्महरु प्रतिक्षित हुँदै आएका छन् । विशेषगरि सिक्वेल फिल्महरु ‘छक्कापन्जा’, ‘कबड्डी-कबड्डी’, ‘नाई नभन्नु ल’ जस्ता सिक्वेलहरु दर्शकका निम्ति पर्खाईका फ़िल्म हुन् ।
– रामबाबु गुरुंगका ‘कबड्डी कबड्डी’ बोरिंग नलाग्ने सिक्वेल हुन् । विशेषगरि कलाकार, उनीहरुका संवाद, छायांकनका स्थानले यो फिल्म अमेरिकाका नेपाली फिल्मप्रेमीका लागि राम्रो छाप छाड्न सफल छ ।
– केहि दिनदेखि अमेरिकाको टेक्सस राज्यका डिएफडब्लु मेट्रोप्लेक्सका दुई थियटरमा प्रदर्शन भैरहेको कबड्डी कबड्डी-४ भने यस अघिका सिक्वेलभन्दा अपेक्षाकृत रहेन । संवाद, पात्रहरुको अभिनय उत्कृष्ठ भएपनि एउटी मास्टर्नीकै सेरोफेरोमा मात्र पुरै फ़िल्म सकाउनुले दर्शकलाई न्याय भएन ।
– अघिल्ला तीन सिक्वेलमा काजीको भाँडिएका विवाह यसपटक सफल बनाईएको छ । त्यसले गर्दा शायद यो सिक्वेलको अन्तिम भाग हो । त्यसैले पनि निर्माता, निर्देशकले अघिल्ला तीन हेर्ने यसपटक आईहाल्छन् भन्ने सोचले फिल्मको कथा, पटकथालाई टुंग्याउने तिर बढ्ता केन्द्रित हुँदा हामी जस्ता दर्शकलाई न्याय भएन । काजीको बिहे सफल बनाउनकै लागि मात्र सवा दुई घण्टा समय दिनु दर्शकको भावनालाई हेपिएको र जस्तो बनाएपनि चल्छ भन्ने सोच हो ।
– कलाकारको अभिनयमा खोट लगाउने सानो ठाउँ पनि छैन । कबड्डी कबड्डी सिक्वेलका एउटा राम्रो विशेषता भनेको सपरिवार सँगै बसेर हेर्दा रातोपिरो हुनुपर्दैन । टिभीमा हेर्दा नत कुनै दृश्य स्किप नै गर्नुपर्छ । अर्थात बेडशीन र किससिनबाट यो सिक्वेल मुक्त छ । बेडसिन र अनावश्यक चुम्बनका दृश्य राखेर मात्र फिल्म चल्छ भन्ने सोच पालेका निर्माता, निर्देशकलाई कबड्डी कबड्डी गतिलो झापड पनि हो ।
– अमेरिकामा नेपाली फ़िल्म हेर्दा म चाहि दुईवटा कारणले हेर्छु । पहिलो, क्वालिटीको मनोरंजन । दोस्रो, नेपाली मुभीलाई प्रमोट गर्न सानो भएपनि योगदानका लागि । नेपाली मुभीलाई प्रमोट गर्ने कुरा भावनाले मात्र सधैँ चल्दैन । जसरी मुभी मेकिंग एउटा व्यापार/व्यवसाय हो । निर्माताले नाफाको अपेक्षा राखेको हुन्छ ।
दर्शकले पनि आफूले तिरेको पेनीपेनी र डलर डलरको प्रतिफल चाहन्छ । मैले पनि खोज्ने त्यहि हो । तर यसमा नेपाली मुभी निर्माता, वितरक चुकेको देखिन्छ । बिलियन डलरका हलिउड फ़िल्म त्यहि थियटरमा $८ मा हेर्न पाईन्छ ।
केहि अर्ब रुपियाँ खर्चिएका बलिउड फ़िल्म $१२ डलरमा हेर्न पाईन्छ । तर एकाध करोड रुपियाँ लगानीमा तयार भएका नेपाली फिल्मलाई $१८ डलर । यो न्यायोचित भएन कि ! भावनाले चल्ने भनेको एक वा दुई पटक हो । दर्शकलाई एक पटक मुर्गा बनाउन सकिएला । तर बारम्बार प्रयास गर्दा त्यो प्रत्युतपादक हुनेछ ।
– कबड्डी कबड्डीको यो चौथो भागले काजीको बिहे गराउनु भन्दा बाहेक दर्शकलाई न कुनै सन्देश दिएको छ, न यसअघिका भन्दा फरक फ्लेवर नै ।
प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १२:३०