नुवाकोटकाे पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध
९ भदौ,नुवाकोट । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् ।
सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी दिनुभयो । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक पुरिएको छ” उहाँले भन्नुभयो ।
आज बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको वडा नं ४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिनुभयो । उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १०:२५