पुरूषको पासपोर्टमा महिलाको तस्बिर, गुनासो गर्दा पीडितलाई नै गाली
११ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का रूपक श्रेष्ठले अष्ट्रेलिया जाने पक्रियाका लागि एक महिना अघि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा राहदानी (पासपोर्ट) बनाउन निवेदन दिए । तर भिसाका लागि पासपोर्ट बुझाउने अघिल्लो दिन अर्थात जेठ १० गतेमात्र रूपक आफ्ना दाजु पूर्णमानकुमार श्रेष्ठसहित जिल्ला प्रशासन कार्यालय नुवाकोट पुग्छन ।
तीन दिन अघि नै मोबाइलमा तपाइको पासपोर्ट तयार छ लिन आउनुहोला भनेको सन्देश पाएका उनीहरूले त्यहाँ पुग्नेबित्तिकै पासपोर्ट लिए । हातमा पासपोर्ट परेपछि रूपकले पाना पल्टाएर हेर्छन त्यहाँ उनले आफ्नो तस्बिर नदेखेपछि कन्फ्यूज हुन्छन र नाम हेर्छन नाम र तस्बीर नमिलेपछि उनी छक्क पर्छन ।

केहीबेरमा उनले आफ्नो पासपोर्ट कर्मचारीको लापरवाहीले बिग्रिएको निष्कर्षसहित प्रशासनका कर्मचारीसँग गुनासो गर्छन । तर कर्मचारी न परे, उल्टै चर्को स्वर गरेर प्रशासनका ती कर्मचारी पासपोर्ट पीडित बनेका रूपक र उनको दाजु पूर्णमानमाथि जाइलाग्छन ।
उनीहरूबीच करिब ३० मिनेट सवाल जवाफ हुन्छ । कर्मचारीहरूआफ्नो संयन्त्रको कमजोरी स्वीकार्न तयार नै छैनन् । बरू उनीहरू सेवाग्राहीमाथि अनेक लान्छाना लगाउन थाल्छन । उनीहरूले अब तिमीहरूले फेरि पैसा तिरेर प्रकिया सुरू गर्नुपर्छदेखि अनेक कुरा गर्छन र कर्मचारीले उनीहरूलाई निराश नै पार्छन ।
त्यसपछि रूपक र उनका दाजु पूर्णमान प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद रिसालकोमा पुग्छन । पूर्णमानले केही नबोली सिडिओको हातमा पासपोर्ट राखिदिन्छन । त्यसपछि सिडियोले पासपोर्ट हेरेर पुरूषको नाम र महिलाको तस्बीर देखेपछि पक्कै यही कमजोरी हो भन्ने बुझ्दछन र गल्ती गरेछन कर्मचारीले भनेर भन्छन । त्यसपछि उनले पासपोर्ट विभागका लागि पत्र लेख्न कर्मचारीलाई निर्देशन दिन्छन र श्रेष्ठ दाजुभाइ त्यहाँबाट बाहिरिन्छन ।
रूपकको नेशनल आइडी कार्ड पनि बनेको छ । उनले अन्तिमसम्म भरेको कुनै पनि विवरणमा गतल सूचना पनि लेखेका छैनन र तस्बीर पन फरक पारेका छैनन् तर कर्मचारीको लापरबाहीले उनले आज गर्नुपर्ने काम गर्न काम गर्न पाएनन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा गुनासो अन्यको पनि छ । टोकन सिस्टम लागू भएको छ तर १० बजे नै सकिइसकेको हुन्छ । कतिपय टोकन विचौलियाको कब्जामा पुगिसकेको हुन्छ ।
टाढाबाट सदरमुकमा विदुर पुग्नेले विचौलियासँग टोकन लिनुपर्नेसम्मको अवस्था छ । सोझाहरू लाइनमा बसेको बस्यै हुन्छन । विचौलिया र कर्मचारीको चिनजान र पहुँचको प्रयोग गर्नेहरूले भने फटाफट काम गरेर हिड्ने गरेका छन ।
(यो पूर्णमानकुमार श्रेष्ठसँगको कुराकानीमा तयार पारिएको समाग्री हो । हामीले यस विषयमा प्रमुख जिल्ला अधिकारी रिसालसँग प्रतिक्रियाका लागि सम्पर्क गरेका थियाैँ तर सम्पर्क हुनसकेन। -सम्पादक)

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १७:२५












