१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युवा संघका नेता राईलाई पक्राउको बहानामा प्रहरीले नै कुटेर घाइते बनाएपछि…

११ जेठ, धनकुटा । प्रहरीको कुटाईबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भिर घाईते भएका छन् । घाईते हुनेमा शहिदभूमि गाउँपालिका वडा नं.६ माङ्तिनका ३३ बर्षिया निरन साङ्सनुन राई रहेका छन् ।

राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको अस्पतालले जनाएको छ ।

राई आफ्नै गाउँमा बसिरहेको अबस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउगरी कुटपिट गरेको राईको कुरालाई उध्रित गर्दै वडा नं.६ का वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिए ।

यो घटना एमालेको गएको ८ गते भएको चुनावी बिजय ¥यालीमा केहि ब्यक्तिहरुले आक्रमण गरेको घटना पछि घटेको श्रखलाको अंश भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उक्त ¥यालीमा भएको आक्रमणपछि आक्रोशित एमालेको केहि समुहले ती आक्रमणकारीहरुलाई कुटपिट गरेका थिए । उक्त घटना पछि कुटाई खाने पक्षले प्रहरीमा उजुरी दिएको र कुटपिट गर्नेमा निज निरनको पनि नाम रहेको हुँदा उनलाई प्रहरीले खोजतलास गरी समात्ने क्रममा उक्त घटना घटेको एस.पी.अधिकारीले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । गएको ८ गते भएको बिजय ¥यालीमा आक्रमणमा परेका ऐजन राईले नेपाली कांग्रेसका वडा सभापति बिकास राईको नेतृत्वमा आएका केहि यूवाहरुले आक्रमण गरेको जानकारी दिए ।

उक्त घटनामा सभापति राईले आफूलाई खुकुरी निकालेर खेदाएको जानकारी दिए । उक्त घटनापछि आक्रोशित भएर अनियन्त्रित भएका केहि एमालेका कार्यकर्ताहरुले कांग्रेस निकट यूवाहरुलाई कुटपिट गरेको उनले जानकारी दिए । उक्त घटनाको भत्सर्ना गर्दै नेपाली कांग्रेस धनकुटाले बिज्ञप्ती समेत जारी गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १६:३०