ताप्लेजुङ केन्द्र बनाइ ४ दशमलव ५ म्याग्निच्युडको भूक्म्प गयो
८ भदाै, काठमाडाैँ । ताप्लेजुङमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन ।
यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उहाँले बताउनुभयो । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ ।
गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४ दशमलव २ म्याग्निच्युडको परकम्प गएको थियो ।
त्यसअघि साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको थियो । असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४ दशमलव १ र ५ म्याग्निच्युडको परकम्प गएको थियो । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्युडकोभन्दा माथिका ५०६ वटा परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार २०:२७