१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रहरीको गोलीबाट कञ्चनपुरमा सन्नी खुनाको मृत्यु, अन्य तीन जना घाइते

८ भदाै, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बलात्कारीलाई पक्राउ गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १४ वर्षीय सन्नी खुना रहेका छन् । गोली लागि अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था पनि चिन्ताजनक छ ।

बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले गोली चलेको पुष्टि गरेका छन् ।

यस्तै कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भएका पुष्टि गरेपनि घटनाको विस्तृत विवरण आइनसकेको प्रतिक्रिया दिएका छन् ।  यसअघि बिहीबार प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा चार जना आन्दोलनकारी युवा घाइते भएका थिए ।

(यसअघि मृतकको नाम सन्नी खुना हुनुपर्नेमा अन्यथा भएकोले सच्चयाइको छ । हामीबाट प्रवाह भएको गलत सूचनाले सम्बन्धित पक्षमा पर्न गएको असुविधाका लागि क्षमा माग्दै अागामी दिनमा यस्तो नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछाैँ ।–सम्पादक)

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १८:४८