११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

दुईवटा वडामा कांग्रेस, एमाले र माओवादीको एक-एक वडाध्यक्ष निर्वाचित

१ जेठ, इलाम । इलामको सूर्योदय नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् । कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।

लिम्बूले ८७३ मत पाउँदा राईले ८४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।

माङसेबुङ गाउँपालिका-१ मा भने एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन भएको माङसेबुङ-१ मा माओवादी केन्द्रका भूपाल योङहाङ वडाध्यक्ष निर्वाचित भएका हुन् । उनले कांग्रेस-जनता समाजवादी पार्टीका भक्तराज लिम्बूलाई १३३ मतले पराजित गरे । योङहाङले ७७३ मत पाउँदा लिम्बूले ६४० मत पाएका थिए ।

महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती, खुला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू विजयी भएका छन् ।

इलाम नगरपालिका-२ मा भने एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गिरिराज रिजाल ७२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । महिला सदस्यमा मिना दाहाल, दलित महिला सदस्य सरिता दियाली, खला सदस्यमा शेरबहादुर खालिङ, र राजेन देवान विजयी भएका छन् ।

रोङ गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरेका हुन् । कांग्रेसका मनोहरि खड्काले ६१० मत प्राप्त गर्दा एमालेका मनोज खड्काले ४८८ मत पाएका छन् । दुवै एकाघरका दाजुभाइ हुन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् । अन्य सदस्यमा कांग्रेसका उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १२:०५