१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

लमजुङको अतिसंवेदनशील २२ मतदान स्थलको सुरक्षा व्यवस्था कडाई

२९ बैशाख, लमजुङ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका २२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । उक्त मतदान स्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । लमजुङमा संवेदनशील स्थल ८० वटा छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र छन् ।

सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको डिएसपी कार्कीले बताए । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता छन् । जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए । अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार ११:२४