मुलुकी संहिताबारे नगरकोट र धुलिखेलका बहसमा पत्रकार महासंघ सहभागी छैनः अध्यक्ष अाचार्य
५ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंका अध्यक्ष गोविन्द अाचार्यले मुलुकी संहिताकाे बारेमा भएको छलफलमा यसअघि पत्रकार महासंघको पनि सहभागिता भएको भन्ने विषयको खण्डन गरेका छन । फेसबुममा लामो टिप्पणी लेख्दै अध्यक्ष अाचार्यले मुलुकी संहिताका बारेमा नगरकोट र धुलीखेलमा भएको कुनै पनि छलफलमा सहभागी नभएको र त्यस्तो कसैलार्इ जानकारी भए खबर गरिदिन अाग्रह गरेका छन ।
उनले फेसबुममा यस्तो लेखेका छन
केही साथीहरुले पत्रकार महासंघ मुलुकी संहिता लागू हुने दिन मात्रै बोल्यो, यसअघि केही बोलेन बरु ऐनको समर्थन गर्न नगरकोट र धुलिखेल पुग्यो भन्ने आरोप लगाउनु भएछ, पत्रकार महासंघमा मेरो नेतृत्वको टिम निर्वाचित भएको आज ठीक १ वर्ष भएको छ, यसबीचमा मुलुकी संहिताका विषयमा छलफल गर्न पत्रकार महासंघ आफैले महासंघ र प्रेस काउन्सिलमा आयोजना गरेका कार्यक्रमहरुवाहेक कोही कसैले आयोजना गरेका कार्यक्रममा नबोलाएको र नगरकोट, धुलिखेल त परै जावोस् अन्य कुनै पनि ठाउँका कार्यक्रममा महासंघ संस्थागत रुपमा नगएको स्पष्ट पार्न चाहन्छु ।
यसअघिका अध्यक्ष महेन्द्र विष्ट ज्यूले पनि यो संहितावारे छलफल गर्ने कुनै पनि कार्यक्रममा पत्रकार महासंघको तर्फवाट आफू वा अन्य पदाधिकारीको संस्थागत सहभागिता नरहेको र ऐनका मस्यौदाहरुमा समर्थन समेत नजनाइएको प्रष्ट पार्नुभएको छ । यदि यसबीचमा महासंघको तर्फवाट कोही सहभागी भएको यहाँलाई जानकारी छ भने नाम उपलब्ध गराएर सहयोग गरिदिनु हुन अनुरोध छ ।
मुलुकी फौजदारी संहिताका केही प्रावधानहरु प्रेस स्वतन्त्रताका विरुद्ध प्रयोग हुन सक्ने ठहर गर्दै यसलाई सच्चाउन नेपाल पत्रकार महासंघले दवाव दिने निर्णय गरेको छ । मुलुकी संहिता प्रमाणिकरण भए लगत्तै यसमा महासंघले आफ्नो चासो सार्वजनिक गरेकै हो । गत फागुनमा मुलुकी संहिताका विषयमा प्रेस काउन्सिलमा आयोजित एक कार्यक्रममा विभिन्न प्रेस स्वतन्त्रता विरोधी धारावारे औल्याउँदै महासंघले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको हो ।
यस ऐनलाई संसदवाट सर्वसम्मतिले पारित गरेका राजनीतिक दलका नेताहरुले कार्यान्वयन हुने वेलासम्म ऐन संशोधन गर्ने आश्वासनसमेत दिनु भएको थियो । गत साउनमा पत्रकार महासंघ आफैले यस ऐनका निर्माता राधेश्याम अधिकारी, रामनारायण विडारीसहितका सांसदहरुसँग पत्रकार महासंघ केन्द्रीय कार्यालयमा छलफल गर्दा उहाँहरुले यो ऐनलाई प्रेस मैत्री बनाउन आफूहरुको तर्फवाट पहल हुने बताउनु भएको थियो ।
अहिले महासंघले सरोकारवाला पक्षबीच व्यापक छलफल र बहस गर्दै ऐनमा रहेका प्रेस स्वतन्त्रता विरोधी धारा सच्चाउन पहल गर्ने निर्णय गरेको छ । यतिवेला कतिपय आफूलाई प्रेस स्वतनत्रताका पक्षपाति भन्न रुचाउने व्यक्तिहरुले महासंघका वारेमा भ्रमपूर्ण प्रचार गरेर हाम्रो अभियानलाई कमजोर बनाउने तथा प्रेस स्वतन्त्रता विरोधी धारा कायमै राख्ने जुन सपना देखिरहेका छन्, त्यो दिवा सपना पूरा हुने छैन । सबै प्रेस स्वतन्त्रताका पक्षपातिहरुलाई महासंघले सुरु गरेको यस अभियानमा सहभागी हुन अनुरोध गर्दछु ।
प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार १०:५९