३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अाफ्नै भिनाजु मारेर ९ वर्ष जेल परेका दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछी हत्या गरेको खुलासा

४ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दिलिपसिंह विष्ट अाफ्नै भिनाजु मारेर ९ वर्ष जेल बसेका व्यक्ति रहेकाे खुलासा भएकाे छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर  ०७४ जेठमा छुटेको प्रहरीले जानकारी दिएकाे छ ।

बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक-पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

गृहकार्य गर्न साथीको घरमा गएकी निर्मला फर्कने क्रममा बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले जनाएको छ । बाटामा निर्मलाको साइकलको चेन बिग्लेरिएकाले आफूले बनाइदिएको र एक्लै देखेपछि बलात्कार गरी हत्या गरेको बयान बिष्टले प्रहरीलाई दिएका छन् ।

सोधपुछका क्रममा बिष्टले अभियोग स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तर, निर्मलाका परिवार र आफन्तले भने प्रहरीको दाबीमाथि आशंका गरेका छन् ।

 

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १९:५८