१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लमजुङमा नमुना मतदान : ३० जना सहभागी, सात मत बदर

२१ वैशाख, लमजुङ । लमजुङमा बदर मत कम गर्ने उदेश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मंसिर ३० गते हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधबार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम बेशिसहरको फूलबारीमा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा बुधबार बिहानैदेखि घुइँचो लागेको थियो ।

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनले भनिन् ‘गाउँगाउँमा उम्मेदवारले नै मतदाता शिक्षाबारे जानकारी गराउनुपर्नेछ ।’

नमुना मतदानमा ३० जना सहभागी भए । जसमा ७ मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भयो । खसेको ३० मतमा २५ प्रतिशत मत बदर भएको थियो । बेशिसहरको फूलबारीमा गरिएको नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबृद्धाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

नमुना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य ,सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो । अहिले मतदाता शिक्षा अभाव भयो राजनीतिक दलका उम्मेदवारले मत माग्न जाँदा मतदाता शिक्षाबारे जानकारी गराउनुपर्ने जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको भनाई छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा १ हजार ९ पूर्ण मत बदर भएको थियो । लमजुङमा मतदाताको संख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १७:४८