१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

तिलोत्तमामा कांग्रेस र माओवादीको पूरा नहुने आश्वासनः कल्पनामा रमाउँदै उम्मेदवारहरू

२१ वैशाख, वुटवल । राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणापत्रमा मनलाग्दी आश्वासन बाँडिएको छ । घोषणापत्रमा उल्लेख गरिएका कतिपय विषय काल्पनिक र असम्भव छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यू टावरलाई कलेज बनाउने आश्वासन दिएको छ ।

समाजवादीबाट तिलोत्तमाको मेयरमा उम्मेदवारी दिएकी आशाकुमारी चौधरीले तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने बताइन् । ‘हामीले हाम्रो घोषणापत्रमा भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने योजना अगाडि सारेका छौं,’ उनले भनिन् ।

शंकरनगर वनवाटिका पर्यटकीय क्षेत्र हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न र नगरपालिकालाई वैकल्पिक आम्दानीको स्रोत गराउने उद्देश्यले वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावरको निर्माण गरिएको थियो । भ्यू टावरमा कलेज सञ्चालन गर्न असम्भव हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘भ्यू टावर पर्यटकीय आकर्षणका लागि बनाइएको हो, तर कलेजका लागि छुट्टै मापदण्ड र पूर्वाधार हुनुपर्छ, प्राविधिक अध्ययनबिना गरिने यस्ता घोषणाको अर्थ छैन्,’ उनले भने ।

केही दिन अघिमात्रै नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा जारी गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पताल बनाउने बताएको थियो । त्यसको पनि सर्वत्र आलोचना भएपछि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणले यो विषय प्राविधिक अध्ययनको विषय भएको बताएका थिए ।

एकीकृत समाजवादीले ल्याएको घोषणपत्रमा तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा गर्ने उल्लेख छ । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले एकातिर कर नगरपालिकाको आम्दानीको स्रोत भएको भन्दै कर मिनाहाले नगरपालिकाको विकास कसरी हुन्छ भन्दै प्रश्न गरे । ‘करका दरहरू बढी भए पुनर्विचार गर्न सकिने अलग कुरा हो, तर पुरै मिनाहा गर्छु भन्ने कुरा घोषणापत्रमा लेख्नु काल्पनिक बाहेक केही होइन,’ उनले भने ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ११:०३