मृग मार्न भाइले हानेको गोली लागेर आफ्नै दाइको मृत्यु
४ भदौ, काठमाडौँ । संखुवासभामा मृगलाई मार्न हानेको गोली लागेर २५ वर्षीय हस्तबहादुर तामाङकाे मृत्यु भएको छ । गएकाे आइतबार राति शिकार खेल्न हिँडेका रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर उनका सहाेदर दाइ हस्तबहादुर तामाङकाे मृत्यु भएको हो ।
रातकाे समयमा सिकार गर्न हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा गएका थिए । रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीले जानकारी दिएकाे छ । घटनास्थलबाट समेत १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १४:४९