१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

९ वैशाख, काठमाडौँ । नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो ।

‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने । लिज, करार र सहकारी मार्फत खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानूनी प्रबन्ध र राज्यको सुरक्षा प्रत्याभूति गर्ने ।’

सिंचाईको विस्तार, कृषि–भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिवद्धता पनि एमालेले जनाएको छ । जीवनको आधारका रुपमा रहेको खाद्य पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई उच्च महत्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पनि घोषणापत्रमा राखिएको छ ।

‘उन्नत जातको बिउ, आधुनिक प्रविधि, कृषि तथा पशुसेवा सबन्धी प्राविधिक जनशक्ति उपलव्ध गराई कृषिको उत्पादकत्व वृद्धि गर्ने । उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने, कृषि विमा, कृषि कर्जा, कृषि उपजको समर्थन मूल्य निर्धारण, अनुदान जस्ता कदम मार्फत किसानको लगानीको सुरक्षा गर्ने । कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने,’ घोषणापत्रमा भनिएको छ ।

प्रत्येक पालिकाको पहिचान स्थापित गर्नेगरी विशेष खाद्यबाली, फलफूल, पुष्पखेती, नगदेबाली, पशुपन्छी, चराचुरुङ्गी वा जलचरको विकास गर्ने पनि एमालेले जनाएको छ । ‘कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने । उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै बिचौलियाको वर्चस्व अन्त्य गर्ने,’ घोषणापत्रमा उल्लेख छ, ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट किसानहरूलाई संरक्षण गर्न सूचना प्रणाली, नयाँप्रविधिको विकास र क्षमता अभिवृद्धि गर्ने ।’

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १६:०८