१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसद्वारा शिष्टाचार भेट

९ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उनिहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानकाबारेमा जानकारी गराएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए । उनले डब्लुएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन् । उनिहरू यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १४:३८