२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

डब्लुएचओ प्रमुख नेपालमा, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने


८ वैशाख, काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस नेपाल आएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी बिहीबार काठमाडौं आइपुगेका हुन । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन । महानिर्देशक टेड्रोस तीनदिने सद्भाव भ्रमणमा नेपाल आएका हुन । भ्रमणकै क्रममा उनले  टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नेछन । उनी वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १४:२५