२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर विस्फोट, ४५ वर्षीय ब्रिजु महतोको निधन


८ वैशाख, काठमाडाैँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् । त्यस्तै बिस्फोटमा ७ जना घाइते भएका छन् , घाइते मध्ये एकको अवस्था गम्भीर रहेका प्रहरीको भनाई छ ।

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरुममा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ । बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफील गर्ने क्रममा सिलिण्डर बिष्फोट भएको र एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुख व्यक्त गरे । उनले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको भन्दै यसको अनुसन्धान गरिने जानकारी दिए । मन्त्री बडुले घटनामा मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताए । यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:२०