‘विमान बिद्रोह’ लेखकको कुण्ठा, आक्रोश र पूर्वाग्रहले भरिएको पुस्तकः विष्णु रिजाल
२ भदाै, काठमाडाैँ । केही साता अघि नेपाली कांगेसका नेता दुर्गा सुवेदीले लेखेको एउटा पुस्तक विमान बिद्रोहको सार्वजनिक भएको एक साता बित्यो । शीर्षक र लेखकको बिगत हेरेर धेरैले पुस्तक किने । कतिपय व्यक्तिहरू उक्त पुस्तकका लागि तिरेको पैसा र पुस्तक पढ्दाको समय पुरै खेर गएको विष्लेषण गर्न थालेका छन ।
पुस्तकमा सुवेदीको कुण्ठा, आक्रोश र पूर्वाग्रह मात्र देखिएकाे धेरैको टिप्पणी छ । हामीले पुस्तककै बारेमा सामाजिक सञ्जालमा नेकपाका नेता एवम् राजनीतिक विश्लेषक विष्णु रिजालले गरेको टिप्पणी यहाँ उल्लेख गरेका छाैँ । उनले फेसबुकमा गरेको टिप्पणी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।
५८० रुपियाँ खेर गएको पुस्तक
म पुस्तक लेख्नु र पढ्नुलाई सधैँ सकारात्मक रुपमा लिन्छु । तर, दुर्गा सुवेदीको यो पुस्तक पढ्दा चाहिँ कागज र मसीको खपत मात्रै पुस्तक लेखन होइन भन्ने धारणा झन् प्रबल भएको छ । दुर्गा सुवेदी २०३० सालको विमान अपहरणका तीनजनामध्ये एक जना थिए । ३० मिनेटको अपहरणलाई जति तन्काए पनि यो कृत्रिम मात्र देखिएको छ । उनले अरुमाथि लगाएका आरोपहरुको कुनै वस्तुनिष्ठता पाइँदैन । पुस्तकमा उनको कुण्ठा, आक्रोश र पूर्वाग्रह मात्र देखिन्छ ।
पुस्तक पढिसकेपछि मनमा उनकै बारेमा पनि जिज्ञासा उत्पन्न हुन्छ, आखिर उनी हुन् को ? हुन् के ? कांग्रेस भएर विमान अपहरण गरे, कांग्रेस होइनन् । भारतमा आश्रय लिएर बसे, मुद्दा खेपे । सहानुभूति चाहिँ भारतप्रति नै छ, बखान त्यहीँका नेताको छ । उनकी श्रीमतीलाई कांग्रेस भएकै कारण शेरबहादुर देउवाले सर्वोच्चको न्यायाधीश बनाइदिए र उनी पछि प्रधानन्यायाधीश पनि बनिन् । यो कथालाई पनि उनले साँचो रुपमा प्रस्तुत गर्न सकेका छैनन् । पुस्तकको मूल अंश अनलाइन र पत्रिकाहरुमा पढिसकेकाहरुका लागि पुस्तक किन्नु झन् पैसाको फजुल खर्च मात्र रहेछ ।
प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ०९:३७