२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न एमालेको माग


२७ चैत, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न एमालेले माग गरेको छ । एमालेको उपत्यका विशेष प्रदेश कमिटीले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो। प्रदेशको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । एमालेले भनेको छ, ‘अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कमजोरी र गैरकानुनी निर्देशनबाट सिर्जित समस्याको ढाकछोप गर्न स्वच्छ छवि भएका र क्षमताबान् गभर्नरमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय तुरुन्त फिर्ता लिई अर्थमन्त्री जनार्दन शर्माको तत्काल राजीनामा वा निजलाई तत्काल वर्खास्त गर्न जोडदार माग गर्दछौं ।’

एमालेले बैठकबाट पारित गरेको प्रस्ताव यस्तो छ ।

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा आज २०७८ चैत २६ गते सम्पन्न अभिमुखीकरण कार्यक्रममा उपस्थित नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीमा आवद्ध विशेष जिल्ला कमिटीहरु, इलाका कमिटीहरु, शाखा कमिटीहरुमा आबद्ध संगठित सदस्यहरुको एकमतबाट संकटतर्फ उन्मुख भइरहेको नेपालको अर्थतन्त्र सुधारको नेतृत्व गर्न असक्षम वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले वदनियतपूर्ण तथा राजनीतिक पूर्वाग्रही ढंगबाट तथाकथित छानवीन समिति गठन गरी नेपालको अर्थतन्त्रलाई संकटबाट जोगाउन इमान्दारीपूर्वक सरकारलाई उचित सल्लाह र सुझाव दिइरहनु भएका र नेपाल राष्ट बैकको तर्फबाट आवश्यक नीतिगत निर्णय लिई अत्यन्त राम्रो काम गरिरहनुभएका नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई झुठा र अप्रमाणित अभियोग लगाई निलम्बन गरेको घटनाप्रति घोर भत्र्सना र निन्दा गर्दछौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कमजोरी र गैरकानुनी निर्देशनबाट सिर्जित समस्याको ढाकछोप गर्न स्वच्छ छवि भएका र क्षमताबान् गभर्नरमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय तुरुन्त फिर्ता लिई अर्थमन्त्री जनार्दन शर्माको तत्काल राजीनामा वा निजलाई तत्काल वर्खास्त गर्न जोडदार माग गर्दछौं ।

२. वर्तमान सरकार गठनपछि दैनिक उपभोग्य खाद्य पदार्थका साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनता, श्रमजीवी वर्गको दैनिक जीवनयापन अत्यन्त कष्टकर बन्दै गएको छ । तर वर्तमान सरकार मूल्यवृद्धि नियन्त्रणका कुनै पनि कदम नचाली मुलुकमा सरकार छ कि छैन को अवस्थामा मौन रहेको छ । यो वृहद भेला खाद्यान्नमा भइरहेको मूल्यवृद्धि तत्काल रोक्न र पेटोलियम पदार्थमा निरन्तर गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १९:२७