२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

देवी ज्ञवालीको प्रस्तावमा भरतपुरको मेयरमा एमालेबाट विजयी सुवेदी सर्वसम्मत उम्मेदवार


-प्रदीप घिमिरे

२७ चैत, चितवन । देवी ज्ञवालीको प्रस्तावमा भरतपुरको मेयरमा एमालेबाट विजयी सुवेदी सर्वसम्मत उम्मेदवार हुने भएका छन । एमालेले अहिले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी दिएको छ । चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी सुवेदी महानगरपालिकाको मेयरमा उम्मेदवार हुन लागेका हुन । पार्टीको बैठकमा सुवेदीलाइ मेयरमा उठाउन ज्ञवालीले प्रस्ताव गरेका थिए भने कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।

आज (आइतबार) पार्टी कार्यालय भरतपुरमा आयोजित महानगर कमिटिको भेलामा सुवेदीको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो । बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस भएको छ । सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् । सरल स्वभाव भएका सुवेदी भरतपुरमा लोकप्रिय छन् ।

को हुन सुवेदी ? 

स्याङजामा जन्मिएर, पाल्पा हुँदै चितवनसम्म आइपुग्दा उनले राजनीतिमा धेरै जिम्मेवारी बहन गरिसकेका छन् । २०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका सुवेदीले सोही वर्ष पाल्पामा तत्कालिन नेकपा (माले) निकट युवा लिगको सदस्य भए । सोही वर्ष अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको सदस्य बने ।

पाल्पाबाट चितवन आएका उनले २०३९ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता लिए । २०३९ सालमै अनेरास्ववियू चितवनको कोषाध्यक्ष भए । लगत्तै २०४० सालमा अनेरास्ववियू चितवनको सचिवको जिम्मेवारी लिए । कोषाध्यक्ष र सचिव पदमा जिम्मेवारीपूर्ण तरिकाले संगठन सञ्चालन गरेका उनको भूमिकाले उनलाई लगातार अनेरास्ववियूको तीन कार्यकाल अध्यक्ष सम्हाल्ने जिम्मेवारी आयो । २०४१, २०४२ र २०४५ सालमा अनेरास्ववियू चितवनको अध्यक्ष भएर संगठनलाई हाके ।

त्यस्तै उनी २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च चितवनको अध्यक्ष भए । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बने । २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सचिव भएर काम गरे । २०२८ सालबाट बालकुमारी मावि नारायणगढ र २०३८ सालबाट वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययन गरेका सुवेदीले बीचमा केही समय पाल्पामा विद्यालय शिक्षा हासिल गरे ।

मन्त्री सुवेदीले त्रिविबाट अर्थशास्त्र र इतिहासमा स्नातक र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौंद्धशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य भए । तत्कालिन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उनले २०४९ सालबाटै सम्हाले । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव बने । यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी सल्हाले । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उनले पार्टीको कामलाई निरन्तरता दिए । अहिले नेकपा एमाले चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट वाग्मती प्रदेशका सांसद बन्दै भरतपुर महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले राजनीतिमा पार्टीले दिएको जिम्मेवारी सधैं सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उनले संगठन र पार्टीको नेतृत्वमा रहँदा फरक शैलीमा संगठन र पार्टीलाई अगाडि बढाए । संगठन र पार्टीका कार्यक्रमहरु, बैठक र सम्मेलनहरु जनताको प्रत्यक्ष सहभागितामा गर्ने परम्पराको सुरुवात उनले नै गरे । २०६४ सालमा अनेरास्ववियूको १८ औं राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय विद्यार्थी प्रतिनिधिहरुलाई एक हप्तासम्म जनताको घरघरमा राखेर जनआधारित रुपमा सम्पन्न गरिएको थियो ।

स्याङजाबाट २०३७ सालमा बसाइसराई गरी चितवनको गुञ्जनगर आएको उनको परिवार २०६५ सालदेखि भरतपुर–१२ मिलनचोकमा स्थायी रुपमा बसोबास गर्दै आएको छ । परिवारको बसाइ जहाँ भए पनि उनले अध्ययन, राजनीति र समाजसेवामा भरतपुरमा नै केन्द्रीत रहेर आफ्नो जीवनयात्रा अगाडि बढाए ।

२०३६ सालमा रामपुर पाल्पामा रहँदा विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका सुवेदी २०४५/०४६ सालको जनआन्दोलनमा चितवनमा रहेर सक्रियतापूर्वक सहभागी भए । २०४६ साल फागुन ७ गते उनलाई आगजनीको मुद्दा लगाई वीरगञ्ज जेल पठाइयो ।

२०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेकै दिन नारायणगढको शहीदचोकमा कालोझण्डा प्रदर्शनसहितको कोणसभालाई सम्बोधन गरी चुनौती दिए । २०६२÷०६३ को जनआन्दोलनमा एमालेका तर्फबाट संयोजक रहेका सुवेदी आन्दोलनको क्रममा गम्भीर घाइते भए । त्यसका बाबजुद पनि उनले आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाए । त्यस समयको चितवनको आन्दोलन राष्ट्रिय रुपमा नै चर्चित रह्यो ।

आन्दोलनकारीको नेतृत्व गर्दै होमिएका उनलाई पटकपटक गरी ६ महिना जेल हालियो । २०४२ सालमा एक महिना हनुमान ढोका प्रहरी हिरासतमा यातना दिँदै राखियो । २०४५ सालमा चितवनमा गिरफ्तार गरी वीरगञ्ज लगेर दुई महिना १५ दिन र २०४६ सालमा पनि चितवनमा नै पक्राउ गरी वीरगञ्ज लगेर २ महिना १५ दिन जेल हालियो । यसबीचमा उनले अनेकन झुटा मुद्दाहरु व्यहोर्नु परेको थियो । आन्दोलनकै क्रममा २०४३ देखि २०४५ सालसम्म मन्त्री सुवेदीले चितवन र मकवानपुरमा भूमिगत जीवन बिताए ।

विसं. २०४३ सालमा भएका राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको प्रचारप्रसार समितिको संयोजक भएर काम गरे । भेटवाललाई जिताउन उनको भूमिका अग्रणी रह्यो । विसं. २०५६ सालमा प्रतिनिधिसभा सदस्य पदमा तत्कालिन चितवन क्षेत्र नं. ४ बाट र २०६४ सालमा चितवनको तत्कालिन क्षेत्र नं. ५ बाट संविधानसभा सदस्य पदमा उम्मेदवार बने । संसदीय निर्वाचनमा पराजित हुँदा पनि उनी निरन्तर जनताको घरदैलोमा पुगिरहे ।

राजनीतिसँगै उनले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । जहाँ जहाँ उनले जिम्मेवारी लिए त्यहाँ त्यहाँ उनले सफलतापूर्वक जनचाहना अनुरुप काम सम्पन्न गरेका छन् । स्वास्थ्य, शिक्षा र भौतिक निर्माणका क्षेत्रमा उनले गरेका र अगाडि सारेका योजनाहरु चितवन जिल्लामा सधैं प्रशंसा हुने गरेका छन् ।

ती योजनाले यहाँको समग्र विकासमा तत्कालिन र दीर्घकालिन रुपमा धेरै ठूलो परिवर्तन ल्याउन सक्ने खालका छन् । बृहत चितवनको अवधारणा, ठोरी नाका सञ्चालनका लागि उनले गरेको प्रयास, भरतपुरलाई महानगरपालिका बनाउन उनले खेलेको भूमिका, भरतपुर अस्पतालमा रहेको गुरुयोजनालाई समयसापेक्ष सुधार गरी अगाडि बढाइएका कदम, सप्तगण्डकी क्याम्पसमा शिक्षामा गरिएका सुधार जस्ता उनले अगाडि सारेका योजनाहरु चितवनमा सधैं चर्चा हुने विषयहरु हुन् ।

सुवेदी २०६७ देखि २०७१ सालसम्म सप्तगण्डकी बहुमुखी क्याम्पसको उपाध्यक्ष भएर शिक्षाको क्षेत्रमा धेरै राम्रा काम गरेका छन् । २०७१ सालदेखि २०७३ सालसम्म भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भएर उनले स्वास्थ्य क्षेत्रमा गरेको कामको सधैं प्रशंसा हुने गरेको छ । भरतपुर अस्पतालमा पूर्वअध्यक्ष स्व.नरबहादुर खाँडले सुरुवात गरेको गुरुयोजनालाई उनले आजको आवश्यकता अनुसार पुनः व्यवस्थित गरी कार्यान्वयनको चरणमा लैजाने काम गरेका छन् । अस्पतालको अधुरो रहेको ‘ए’ र ‘बी’ ब्लक भवन निर्माणको काम सम्पन्न गरी आईसियू र एनआईसियूलगायतका सेवाहरु सञ्चालन भए ।

अस्पतालमा सिटी स्क्यान लगायतका आधुनिक उपकरण भित्राई, दक्ष जनशक्ति र चुस्त व्यवस्थापन गराई नेपालकै राम्रो सरकारी अस्पतालहरु मध्येको एक बनाउन सफल भए । भरतपुर अस्पताललाई मेडिकल कलेजले वर्षाैदेखि तिर्न बाँकी रहेको रकम उनकै कार्यकालमा तिर्न लगाई अस्पतालको विकासमा लगाइयो । अस्पतालमा अधुरो रहेको शव गृह मेडिकल कलेजलाई निर्माण पूरा गराउन उनले भूमिका खेले ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट स्वीकृत लिएर भरतपुर अस्पतालमा एमडीएमएस कक्षा सञ्चालन, बीएन कक्षा सञ्चालन गरी भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रमलाई पनि सफलतापूर्वक अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे । उनी अध्यक्ष भइरहँदा बैठक भत्ता स्वरुप पाएको रकम पनि उनले अध्यक्ष पद छाड्ने समयमा अस्पतालमा गरिब तथा विपन्न उपचार कोष स्थापना गरी सोही कोषलाई हस्तान्तरण गरे ।

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई व्यवस्थित गर्न गठित समितिको संयोजक भएर उनले काम गरे । २०७३ माघ ३ गते गठित चितवन जिल्ला स्वास्थ्य सुधार सुझाव कार्यदलको संयोजक भएर उनले ६ आश्विन २०७४ मा प्रतिवेदन प्रस्तुत गरे ।

२०६६ सालमा जिल्ला विकास समिति चितवनले गठन गरेको चितवन उपत्यका गुरुयोजना निर्माण समितिको संयोजक भएर उनले जिम्मेवारी पूरा गरे । उनले २०६७ सालमा उक्त गुरुयोजनाको प्रतिवेदन तयार पारी प्रस्तुत गरे । २०७४ सालमा चितवन क्षेत्र नम्बर २ को ‘ख’ बाट वाग्मती प्रदेश सांसदमा अत्यधिक मतका साथ निर्वाचित मन्त्री सुवेदी सरलताका एक उदाहरण मानिन्छन् । उनको यात्रा चितवनको सामाजिक, राजनीतिक र आर्थिक विकासमा निरन्तर अगाडि बढिरहेको छ । पछिल्लो १०० दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्री हुँदा पनि उनले उल्लेख्य काम गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १६:५३