२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

एमालेका पूर्व सांसद गोपाल गुरागाईंको हत्या प्रयास, खुकुरी हान्ने युवा पक्राउ


२७ चैत, धनकुटा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंको हत्या प्रायस भएको छ । छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुकुरी प्रहार गरी गुरागाईंको हत्या प्रायस गरेका हुन । खुकुरी प्रहार गरेर भागेका पोखरेललाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेका गुरागाईंको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा बसिरहेको समयमा पोखरेलले आक्रमण गरेका थिए ।

गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन । उनीहरूले पोखरेलले अरू कसैको योजनामा यस्तो गरेको हुनसक्ने शंका गरेका छन । जिल्लाकै अग्रज वामपन्थी नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा एमालेबाट विजयी भएर सांसद बनेका थिए ।

प्रहरी हिरासतमा रहेका पोखरेलले हत्याकै उद्देश्यले खुकुरी प्रहार गरेको प्रहरी समक्ष बयान दिएका छन । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । पोखरेलले किन हत्या खोजेका थिए वा कसैको निर्देशनमा त्यस्तो गरेका थिए भन्ने खुल्न बाँकी रहेको छ । प्रहरीले अनुसन्धान जारी रहेकाले पछि विस्तृतमा जानकारी दिने बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १६:३८