१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नुवाकोटमा एमालेका नेताको एउटै स्वर, विदुरसहितका पालिकाको नेतृत्वमा फेरि पनि एमाले


२६ चैत, नुवाकोट । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहित नुवाकोटका एमाले नेताहरूले फेरि पनि नुवाकोटमा एमाले नै पहिलो दल हुने बताएका छन । शनिबार नुवाकोटको नुवाकोटमा भएको सम्मान कार्यक्रममा उनीहरूले २०७४ सालको भन्दै अझै राम्रो सुधार गरेर एमालेले स्थानीय चुनावमा नतिजा निकाल्ने बताएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा १२ पालिका भएको नुवाकोटमा एमालेले दुइ नगरपालिकासहित तीन पालिकाको प्रमुख जितेको थियो भने एउटा पालिकामा उपप्रमुखसहित दुइ तिहाइ जितेको थियो । केही पालिकामा झिनो मतान्तरमा एमालेले नेतृत्व गुमाएको थियो । एमाले नेताहरूले पुरानो अवस्थामा थप सुधार गरेर पार्टीलाइ विजयी गराउने बताएका हुन ।

नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा रहेका नेताहरुलाई विदुर कमिटिले सम्मान गरेको कार्यक्रममा ४६ जना सम्मानित भएका छन । नेता र कार्यकर्ताको बीचमा अन्तरघुलन गराउनका लागि सम्मानको कार्यक्रम गरिएको एमालेले जनाएको छ ।

सम्मान कार्यक्रममा सहभागी पार्टी उपमहासचिव रिमालले देशैभर एमालेको पक्षमा उर्लेको जनलहर देखेर अत्तालिएका दलले चुनावी गठवन्धन गरेको बताए । रिमालले देशमा एमालेसँग एक्लै चुनावमा जाने हिम्मत नभएर सत्तारुढ दलहरुले सत्ताकै लागि मात्र नाम मात्रको गठवन्धन गरेको र त्यसलाइ जनताले अनुमोदन नगर्ने दाबी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डे लगायते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले विजय हुने आधार तय गरिसकेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार २१:४९