१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरीको आइजीपीका लागि नुवाकोटका पाैडेल र केसी प्रतिस्पर्धामा

२६ चैत, काठमाडाैँ । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् । एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।

सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् । एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो ।

सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन् । उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए । ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन् ।

२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन् । हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् । अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन् ।

केसी नेकपा एमालेका नेता महेश बस्नेतको निकटका रूपमा चिनिएका छन । उनले सशस्त्रको संगठनका लागि भन्दा पनि एआईजी खनालको चार वर्षे कार्यकाल असफल पार्नका लागि सबैभन्दा बढी समय खर्चिएका छन । करिब एक दर्जन पटक उनले खनाललाई अपदस्त गराउने प्रयत्न गरे त्यसकै निम्ति राजनीतिक दलका नेताहरूको ढोका ढकढकाउने र मिडियाको परिचालन समेत गरे तर उनी आफ्नो प्रयासमा कहिल्यै सफल हुनु सकेनन् ।

तर पौडेलले भने वर्तमान नेतृत्वलाई इमान्दारिता पूर्वक सहयोग गरेका छन । राजनीतिक रूपमा दुबैको पृष्ठभूमि कांग्रेस निकटको भए पनि केसीले भने राप्रपा, माओवादी र एमालेको तौरतरिका नियालेको सशस्त्र प्रहरीकै अधिकारीहरू बताउँछन ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०९:५२