१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन आइतबारदेखि, ५३ विज्ञले प्रस्तुति दिने


२५ चैत, काठमाडाैँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC)ले आइतबारदेखि हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर परिषद्ले यस वर्षको सम्मेलनको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ तय गरेको जानकारी दिएको छ ।

सम्मेलनको तयारी पूरा भएको र यसपटकको सम्मेलन यसअघिका भन्दा फरक हुने परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । उनले यसअघिका दुई वटा सम्मेलन कोभिड १९का कारण भर्चुअल रुपमा भएको र यसपटक भने महामारी कम भएसँगै भौतिक रुपमै गर्न लागिएको र यसका लागि राष्ट्रिय अन्तराष्ट्रिय वैज्ञानिकहरु उत्साहित देखिएको बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन प्रि -समिट हुनेछ भने दोस्रो दिन सोमबार सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्नेछन् । डा ज्ञवालीले सम्मेलनमा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरू सहभागिता जनाउने बताए ।

तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरू परिषदमा पेश गरेको र तीमध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएका थिए । प्राप्त लेखलाई बाह्य तथा अन्तरिक समीक्षा गर्दा ४० लेखहरु मौखिक प्रस्तुतीकरणका लागि छनौट भए भने बाँकी रहेका मध्ये उत्कृष्ट अंक ल्याएकालाइ अनुसन्धानकर्ताको स्वीकृति लिएर पोष्टर प्रस्तुतीकरणका लागि थप गरिएको जनाइएको छ ।

पोष्टर प्रस्तुतीकरणका लागि ८७ वटा अब्स्ट्याक्ट समावेश गरिएको छ । त्यसैगरी सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको डा ज्ञवालीले जानकारी दिए । यसैगरी उत्कृष्ट प्रस्तुती लगायतका विभिन्न विधामा दिइँदै आइएको अवार्ड यसपटक पनि दिइने जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार २३:११