१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पाकिस्तानी प्रधानमन्त्री र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच ४५ मिनेट कुराकानी


२२ फागुन, काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

अब्बासी बसेकोे होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा उनीहरुबीच छलफल भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएका जानकारी दिए ।

करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको बताए ।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महरा सहभागी रहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १०:२६