१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एमालेबाट झण्डै सांसद बनेका नायक भुवन केसीले काठमाडाैँ महानगरको मेयरमा उम्मेदवारी दिने

२३ चैत, काठमाडाैँ । नेकपा एमालेमा प्रवेश गरेर झण्डै सभासद् भनेका भुवन केसी काठमाडाैँ महानगर पालिकाको मेयरमा उम्मेदवार हुने भएका छन । उनी एमाले परित्याग घोषणा नै नगरी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा उम्मेदवारी दिन लागेका हुन् । मंगलवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले काठमाडौंको मेयरमा अभिनेता केसीलाई उठाउने निर्णय गरेको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कला संस्कृतिका मूर्धन्य व्यक्तित्व, संसारका सबै देशका लागि सद्भावना राजदूत सरह रहनु भएका काठमाडौंका पुस्तैनी बासिन्दा, काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावनाको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीज्यूको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।’

अभिनेता केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षको समेत जिम्मेवारी दिइएको छ । त्यस्तै, पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । मेयर र उपमेयर पदका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा  नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो । सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । पार्टीभित्र उनलाई टिकट दिएको विषयमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै उनको टिकट खोसेर विद्या न्यौपानेलाई टिकट दिएको थियो ।

त्यसपछि असन्तुष्ट बनेका उनी राजनीतिमा खासै सक्रिय छैनन् । तर उनी एमालेमै आबद्ध रहेको बताइन्छ । त्यतिबेलै केसीले पत्रकार सम्मेलन गर्दै आफूले टिकट नपाए पनि एमालेमै रहने बताएका थिए । त्यतिबेला केसीले आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको जिकिर गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०९:२३