१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

धादिङमा कांग्रेसको टिकट विवाद असन्तुष्ट पक्षले गाउँपालिका अध्यक्षको नाक फुटाइदिए

२३ चैत, धादिङ । धादिङमा कांग्रेसको टिकट विवाद चरम अवस्थामा पुगेको छ । जिल्लामा कतै कुटाकुट भएको छ भने कतै खुकुरी हानाहान भएको छ । मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा असन्तुष्ट पक्षले नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको नाक फुटाइदिए छन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीका  अनुसार कर्यकर्ताले नाक फुटाइदिएका तामाङको अवस्था सामान्य रहेको छ । उनले घटनामा संलग्न भएको अभियोमा एक जना पक्राउ परेको पनि जानकारी दिएका छन । घाइते गाउँपालिका अध्यक्षले भने पार्टीकै नेता राजु पाख्रिनको समूहले आक्रमण गरेको आरोप लगाएका छन । उनले पाख्रिनले आफ्नो भान्जालाई टिकट दिन दबाब दिएको तर नमानेछि आक्रमण भएको बताए ।

उनले राति ८ बजेतिर गोली समेत चलेको दाबी गरेका छन । उनले आफ्नो नाक फुटाइदिने र गोली चलाउनेहरूकोविरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताएका छन । मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको छ । जिल्ला सभापति रामनाथ अधिकारी र  निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । हानाहानमा तीन जना घाइते भएका छन । घाइतेहुनेमा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०८:२८