१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान


२१ चैत, काठमाडौं । पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । दलित अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो । ५१ हजार रुपैयाँ राशिसहित विश्वकर्मालाई सम्मान गरिएको हो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबीका भाइ गौतम टमाटालाई चेक हस्तान्तरण तथा सम्मान गरेका हुन् । हाल क्यानडामा रहेका डा. द्रोण रसाइली, सन्तोष विश्वकर्मालगायतका अधिकारकर्मीले सहयात्रा–इन्टरन्यासनल अलाइन्स फर सोसल जस्टिसमार्फत यस सम्मानको स्थापना गरेको हुन् ।

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा मृत्यु भएको थियो । अछाम रामारोशनका विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए । उनका लेख इकागजडटकममा प्रकाशन भएका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबी ऊर्जावान व्यक्ति रहेको र काठमाडौंमा अन्तिमसम्म पनि संघर्ष गरेको बताए ।

एबलीसँग भएको पहिलो भेट नै अन्तिम भेट भएको स्मरण गर्दै एलबीको परिवारलाई क्षतिपूर्ति दिन दलित आयोगले सिफारिस गरेको खुलाए । एलबी विश्वकर्माका सबै लेखरचना अन्नपूर्णपोस्टदेखि इकागजसम्म सम्पादन र प्रकाशन गरेका आचार्यले भने, ‘एलबीजी गहन दर्शन र चिन्तनले भरिएका खोजमूलक लेख पठाउनुहुन्थ्यो ।

२६ वर्षमै उहाँलाई गुमाउनुपर्दा सामाजिक न्यायका लड्ने योद्धा लेखक गुमाउनुपरेको छ ।’ एलबी विश्वकर्माका लेखरचना समेटेर पुस्तक प्रकाशन गर्ने सोचसमेत रहेको सन्तोष विश्वकर्माले जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले अस्पतालको लापरबाहीले एलबीको मृत्यु हुँदा पत्रकार महासंघलाई पनि विविध कोणबाट आक्रमण गरिएको बताए ।

यस्तै एलबी विश्वकर्मा कार्यरत टिभी टुडेका प्रधान सम्पादक अरुणदेव जोशीले अस्पतालमा बिरामी गएपछि उपचार गर्न नमान्नु अस्पतालको गम्भीर गल्ती भएको बताए । एलबीको निधन भन्दा एक दिनअघि एलबीले दुईवटा ‘स्टोरी’ बनाएर पठाएको भन्दै एलबीले जीवनभर असल कर्म गरेको बताए ।

यसै कार्यक्रमबीच विश्वकर्मालाई इकागजडटकमले २० हजार रुपैयाँ नगद सम्मान स्वरुप प्रदान गरेको छ । कार्यक्रममा बोल्दै इकागजका प्रधानसम्पादक हरिबहादुर थापाले एलबीको परिवारका लागि इकागजले २० हजार रुपैयाँ नगद सहयोगको घोषणा गरेका हुन् ।

अधिकारकर्मी गजाधर सुनारले आफ्ना भाइसमेत रहेका रेशमबहादुर सुनारको योगदान स्मरणीय बनाउन स्मृतिग्रन्थ प्रकाशन गर्ने बताए । सल्यानमा जन्मेका रेशमबहादुर अधिकारका क्षेत्रमा अनवरत सक्रिय हुँदाहुँदै अल्यायुमा मृत्युवरण गर्न पुगेका थिए । कार्यक्रममा दलित अधिकारका क्षेत्रमा सक्रिय दर्जनौँ व्यक्तिले मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार २२:२४