एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
२० चैत, काठमाडाैँ । एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा चैत २० गते आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभाले २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३-३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। सो बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।
उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पु¥याएको योगदानको कदर गर्दै सफल कार्यकालको मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।
यस बैंक मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १५:३०













