६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

माओवादीमा जस्तै बिद्रोह कांग्रेसमा पनि हुनुपर्छ

-बलराम आचार्य

संसदीय प्रजातन्त्र रहेको देश मा १२ वर्ष युद्ध चल्यो । यो कुनै धार्मिक जातीय क्षेत्रीय वा अन्य किसिम युद्ध थिएन । यसलाई वर्गीय नामाकरण दिएको थियो रूप वर्गीय थिएन । राजनीतिक पूर्वाग्रहका कारण कतिपय घरबारबिहीन बन्न पुगे । व्यक्ति हत्या सम्पति लुटपाट का कयौं घटना घटे । सुराकीका नाममा कयौँको कत्लेआम गरियो । अर्थात् पूर्णतया ग्रामीण राज्य आतंक थियो ।

अर्कोतर्फ राज्य आतंक पनि जर्जर थियो । कयौँको सिन्दुर पुछियो काख रित्तियो ममता टुट्यो । देशको आर्थिक सामाजिक राजनीतिक परिवर्तन को सपना देखेर युद्दमा होमिएका नवजवान युवा युवती जीवन हत्केलामा राखेर लडे । कयौं सहादत भए । घाइते अपाङ्ग बने र अन्तिममा अयोग्य ठहर भए । तर उनीहरूले लडेको युद्धका नाममा धेरै नक्कली लडाकुले जागिर खाने र राज्यबाट अन्य सुविधा प्राप्त गर्न पाए ।

युद्धको नाममा दुःख पाएकाहरुको जीवन अझै कष्टपूर्ण नै देखिएको छ । अर्थात् हामी किन लड्यौं ? भन्ने प्रश्न ले घेरिएको पात्रहरु अहिले पनि सडकमा असरल्ल भेटिन्छ। तर यद्धको समयमा लडाकु बनेकाहरूको हत्यामा सहभागी भएकाहरू नै माओवादी कमाण्डर पुष्पकमल दाहाल प्रचण्डसँग घाँटी जोडेर अहिले सयौँ करोडपति बनिसकेका छन् । माओवादीका नामा, सत्ता, सुख र आम्दानी चैतेहरूले गरिरहेका छन । तर वास्तविक पीडितहरू अहिले पनि दुई छाक टार्नकै लागि कठिन संघर्ष गरिरहेका छन ।

यो युद्द चन्दा चलाउँदा राज्य पक्षको पात्र कुनै राजा महाराजा थिएनन् । निरंकुश प्रतिनिधि थिएनन् । अर्थात् यिनै देउवा यिनै पुष्पकमल र यिनै माधव नेपाल थिए । देशलाई युद्धको नाममा शान्ति सम्झौताको नाममा जर्जर बनाउने पात्र यिनै हुन । आज यिनको गला मिलेको छ । र गठबन्धन भन्दै घाँटी जोडेर हिडेँका छन ।

उनीहरूको यो घाँटीजोडाइ कुनै लोकतन्त्रको लागि हैन देशको स्वाभिमान वा जनताको अधिकार वा समृद्धिको लागि पनि हैन मात्र उनीहरूको निजी र दलगत स्वार्थ अस्थिर राजनीतिको चक्रव्यूहमा देश फसाउने गलत मनसाय र नजिर स्थापित गराउने दुस्प्रयास हो । प्रतिपक्षमा रहेको लामो संसदीय अभ्यासबाट हुर्किएको एउटा राजनीतिक दल माथिको घेराबन्दी लोकतन्त्र मास्ने षडयन्त्र हो । आज एमालेमा चालिएको यो अस्त्र धेरै नजिक समयमा कांग्रेसमा चल्ने निश्चित छ ।

एमालेले समृद्धिको योजना अघि सार्दा उनीहरूको गठबन्धनको निर्वाचनको मुख्य एजेण्डा नै एमाले समाप्त पार्ने रहेको छ । निर्वाचनको जनताको बीचमा जाँदा यसअघि नेपालको र संसारभरको प्रचालन भनेको हामी यो काम गर्छाैँ, जनता र देशका लागि यस्ता परिवर्तन ल्याउन सक्छाैँ भन्ने प्रतिवद्धतापत्र लिएर जानुपर्ने हो तर उनीहरूले एकमात्र घोषित प्रतिवद्धता र कार्यक्रम जे भने पनि त्यही एउटा छ । प्रचण्ड, शेरबहादुर र माधवको रहर जनताले पूरा गर्छन भन्ने निर्वाचनको नतिजाले नै देखाउने छ । तर पनि संसदीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका हाम्रासामू गठबन्धनको यस्तो एजेण्डाले कुन राजनीतिक संस्कारको विकास गर्न खोजिएको हो भन्ने प्रश्नले निरन्तर घोचिरहनेछ ।

त्यसैले माओवादी भित्रका घाइते अपाङ्ग अयोग्य ठहर गरेका योद्दाहरू हजारौँको संख्यामा एमाले प्रवेश गरिरहेका छन् । जन निर्वाचित प्रतिनिधि स्वतः स्फूर्त निर्वाचनको सन्निकट प्रतिपक्ष पार्टी एमाले प्रवेश गरिरहेका छन् । अब यो विद्रोह कांग्रेसमा अनिवार्य देखिने छ । देश ध्रुवीकृत हुनेछ एमाले उत्कृष्ट सावित हुनेछ । नीति सिद्दान्त कार्यक्रम बिनाको यो अपवित्र गठबन्धन जनताबाट पराजित हुनेछ तिरस्कृत हुने छ ।

जनतासँगको एमालेको मोर्चाबन्दी विजयको शिखर चढने छ । किनकी एमालेले जनताका लागि काम गरेको छ र काम गर्ने नयाँ योजनाहरू अघि सारेको छ । राज्यलाई लोक कल्याणकारी बनाउने नेतृत्व एमाले नै गरेको छ । आजको सामाजिक सुरक्षाका सबै कार्यक्रमहरू एमालेका सोच र नेतृत्वको उपज हो ।

शारिरिक रूपमा अशक्त भएकादेखि, एकल महिला र जेष्ठ नगरिकका लागि राज्य परिवारकै सदस्य बनेर सहयोग गरिरहेको छ अर्थात मासिक रूपमा जीवन निर्वाहमा सहयोग पुर्याउने गरी केही हजार रकम घरघरमै लगेर पुर्याएको छ । उनीहरूको स्वास्थ्य उपचार निःशुल्क गराइदिएको छ र भोलिका दिनमा पनि एमालेले यस्ता कामलाई निरन्तरता दिएर थप प्रभावकारी सामाजिक कार्यक्रमहरू अघि सार्नेछ ।

आज शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर समेत युवाहरूले व्यवसाय गर्न ऋण पाएका छन । कृषिमा काम गर्छु भन्नेले सोही अनुसार ऋण पाएका छन भने सीपका लागि पनि राज्यले तालिम दिएको छ र उत्प्रेरणा पनि दिएको छ । यी सब एमाले नेतृत्वको सरकारले ल्याएका कार्यक्रममा प्रभाव हुन । हामीले आजका  दिनमा जनताकोबीचमा यी र यस्तै कार्यक्रमको समिक्षा गर्ने छौँ र आगामी दिनका लागि उनीहरूको आवश्यकता के हो त्यो बुझेर पूरा गर्न लाग्ने छौँ । यसैको जगमा सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा चाँडै पूरा गर्ने छौँ । त्यसका लागि स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारको नेतृत्व प्रचण्डको बहुमतका साथ जनताले एमालेलाई दिनेछन ।

(लेखक आचार्य नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य हुन । आचार्यसँग उनको फेसबुक मार्फत पनि अन्तरक्रिया गर्न सकिन्छ ।)

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०९:४०