२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जानकीनगर साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धीत निकाय मौन (फाेटाेफिचर)

१९ चैत, सर्लाही । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप छ ।

तस्करले दिउँसै जंगलको चारै कुनामा सुराकी राखेर सालका छानीछानी रुख कटान गरिरहेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए । वनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदा समेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका जन्माएको उनीहरूको भनाई छ ।

पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा तस्करले दिनमा रुख काट्ने र समसाँझैमा लैजाने गरेको वन नजिकै घर भएका स्थानीयको भनाई थियो । पछिल्लो केही समय यता तस्करले लैजाँदै गर्दा वा लैजान लागेको अवस्थामा समेत काठ बरामद हुने क्रमसमेत बढेको एक सुरक्षा अधिकारीले बताए ।

वन तस्करी बढ्दै जाँदा वन समूह तथा वन कार्यालयले समेत यसतर्फ कुनै चासो नदिएको जानकीनगर निवासी कपिल देव साहको भनाई छ । उक्त साझेदारी वनमा हेरालुको रूपमा गत वर्षसम्म नौ जना रहेका थिए । त्यसको समेत तलब मन्त्रालयबाट नपाएपछि समूहले हेरालु घटाएर ३ जनामा झारेको छ ।

त्यस मध्ये पनि एक जना खाना पकाउने काममा रहेको समूहका अध्यक्ष रामविश्वास रायले जानकारी दिए । ‘यति ठूलो वन छ । हेरालु छैनन् । पहिला ९ जना रहेकोमा पैसा नआएपछि घटाएर आन्तरिक श्रोतबाट तीन जना राखिएको छ । थोरै मानिसले कसरी काम गर्नु,’ उनले भने ।

झण्डै १ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको यस जंगलमा तस्करले जथाभाबी काँचो सालका रुख कटान गरिरहेका छन् । तस्करले सालका रुख काटेर टुना बनाउने र साइकल, ट्याक्टरमालगायतका साधनमा राखेर चोरी तस्करी गरिरहेका हुन् ।

वन क्षेत्रमा गस्ती नभएकै कारण चोरी तस्करी बढेको हरिपुर नगरपालिका–१, जानकीनगरका स्थानीय वीरेन्द्र मण्डलले बताए । ‘वन कर्मचारी र साझेदारीका पदाधिकारीको मिलेमतो नभई काठ कसरी तस्करी हुन्छ ?,’ उनले प्रतिप्रश्न गरे, ‘तस्करसँगको सेटिङकै कारण वनका कर्मचारी कार्यालयबाट वनतर्फ फर्केरसमेत हेर्दैनन् ।’

हेरालु नभएका कारण तस्करी बढ्यो : अध्यक्ष राय

वन हेरालु कम भएका कारण वन तस्करी वृद्धि भएको जानकी नगर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रामविश्वार रायको भनाई छ । उनले आफूले वन जोगाउन सक्दो प्रयास जारी राखेको दाबी गरेका छन् । वनमा केही रुख कटान भएको र आफूहरू त्यसको नियन्त्रणमा दिन रात लागिरहेको उनले बताए ।

‘वनको क्षेत्रफल ठूलो छ । सबै तिरबाट गाउँले घेरेको छ । त्यसैले पनि वन संरक्षणमा चुनौती भएको हो,’ उनले भने, ‘सरकारले हेरालुको तलब दिएको छैन । पटक-पटक धेरैठाउँमा धाइयो भएन । त्यसैले हेरालु घटाउनु पर्‍यो यसको फाइदासमेत तस्करले उठाइरहेका छन् ।’

वन संरक्षणमा दिनरात लागि परेका छौं : डिएफओ झा

तस्करी बढेसँगै वन संरक्षण आफू दिनरात लागि परेको डिभिजन वन कार्यालय सर्लाहीका सन्तोष कुमार झाले बताए । जानकीनगर वन क्षेत्रमा पछिल्लो केही समय यता लगातार सालका रुख कटान भएको विषयमा आफू लागि परेको उनको भनाई छ । ‘यो कुरा थाहा भए पछि म आफै वन रक्षकको टोली लिएर रात दिन नभनी पुगेको छु,’ उनले भने, ‘वन खुला चिज भएकोले यसको संरक्षणमा चुनौती छ । यसको संरक्षणमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

अहिले भइरहेको तस्करी तस्कर समूहको मात्र योजनामा सम्भव नहुने उनले स्वीकार गरे । यसमा वनका स्वयं कर्मचारी तथा सुरक्षा निकायको समेत मिलेमतो रहेको विषयमा समेत आफूहरूले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १८:०३