२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहिने यी हुन १८ याेग्यता (आयोगको विज्ञप्तिसहित)

१६ चैत, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । जुनमा उम्मेदवार हुन चाहिने योग्यताका विषयहरू र उम्मेदवार गर्नुपर्ने स्वघोषणाका बारेमा समेत उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको निर्देशिकामा उम्मेदवारको योग्यता तथा मनोनयन सहित निर्वाचन अधिकृत सम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् ।

आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं  जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने १८ बुँदे स्वघोषणाका बुँदाहरू यस्ता रहेका छन ।

१. नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहेको ।

२. एक्काईस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको।

३. गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको । स्थानीय तह निर्वाचन सम्बन्धी कुनै कानूनले अयोग्य नभएको।

४. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको ।

५. सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको । ६. स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ङ), (च), छि), (ज), (क), (ज) र (ठ) वमोजिमको अयोग्यता नभएको।

७. स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको।

८. प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको ।

९. मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको ।

१०. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

११. कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको ।

१२. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।

१३. संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी पीआर) नलिएको ।

१४. न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको ।

१५. निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको ।

१६. निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको।

१७. २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको ।

१८. नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको । उपरोक्त बमोजिमको स्वघोषणा पत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे-कानून बमोजिम सहन बुझाउन प्रतिवद्ध रहेको घोषणा गर्नुपर्ने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १९:२९