२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी

१५ चैत, रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी पुगेका ओलीलाई स्वागतका लागि एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलगायतका स्थानीय नेताहरु हातमा खादा र माला बोकेर ओलीको प्रतीक्षामा थिए । ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरु सडकमै लाम लागेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको प्रतीक्षा गरिरहेका थिए ।

जब ओली सार्वजनिक विद्युतीय बसबाट ओर्लिए, त्यहाँको माहोल नै परिवर्तन भयो । प्रहरीको स्कटिङमा कार्यक्रमस्थलमा पुगेका साना र विलासी कारबाट ओली उत्रिने आशङ्कामा आयोजक र स्थानीयवासी त्यतै सोझिएका थिए तर अध्यक्ष ओली बसबाट उत्रिएको देखेपछि स्थानीयवासी छक्क परे । पार्टीका नेता र स्थानीयवासीले माला, खादा र ताली बजाएर अध्यक्ष ओलीको स्वागत गरे । “यति ठूला मान्छे भएर पनि बसमा आउनुभएको रहेछ”, छक्क पर्दै स्थानीय हजरत अलीले भने ।

एमालेका अध्यक्ष ओली तिलोत्तमाको मणिग्रामबाट सार्वजनिक विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुगेका थिए । लुम्बिनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदूषणमुक्त बनाउन यस्ता बस सञ्चालन गर्न आवश्यक रहेको बताए । “आफ्नै विद्युत्ले मोबाइल चार्ज गरेजस्तै गरेर चलाउन मिल्ने यो बस स्वास्थ्यका दृष्टिले पनि ठीक छ, यसअघि मैले काठमाडौँमा सुरुआत गरेको थिएँ, अहिले यहाँ सुरु भयो”, उनले भने ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई स्वर्गको नन्दनजस्तै बनाउन आवश्यक रहेको धारणा राखे । “बुद्धजन्मस्थलमा मुस्किलले उडेर आए काग बस्ने मात्रै भयो । खाली सिसौका रुखमात्रै भए यसलाई हटाएर मगमग फूलको बास्ना आउने बनाउनुपर्छ । यसका लागि हामी लागि परेका छौँ”, उनले भने ।

अध्यक्ष ओलीले विकासका सबै अभिभारा पूरा गर्नका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । “जनता न्यायाधीश हो । तपाईँ नै निर्णायक हो । तपार्इँहरु नै भगवान् हो, तपार्इँहरुले अब निर्णय दिनुस् हामी गर्न तयार छौँ”, ओलीले भने ।

सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गरी ओली त्यही बस चढेर लुम्बिनी पुगेका थिए । कार्यक्रमपछि ओली पुनः विद्युतीय बसबाट भैरहवा विमानस्थल पुगेका सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले बताए ।

ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर केसी, बुटवलका उपप्रमुख गुमादेवी आचार्यलगायतका अन्य नेताहरु पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुगेका थिए ।

प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्र्याइएको बताए । तत्कालका लागि दुई वटा बस सञ्चालनमा ल्याए पनि विस्तारै सबै रुटमा सञ्चालन गर्ने गरी बस थप्दै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार २१:०५