२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

म्यादी प्रहरीका लागि दार्चुलामा तीन गुना आवेदन

१३ चैत,दार्चुला । स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा सिट संख्या भन्दा झण्डै तेब्बरले आवेदन दिएका छन् । ६ देखि ११ चैतसम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

दार्चुला जिल्लामा सात सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बर जनाले दरखास्त दिएका छन् । कोरोना महामारीपछि आधिकांश बेरोजगार युवा घरमै रहेको तथा उमेर हद अन्य सरकारी विज्ञापनमा भन्दा फराकिलो भएकाले दरखास्त बढी आएको हुन सक्ने अनुमान छ ।

दरखास्त दिएकाहरुका लागि आइतबार सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरुले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा रहेकाहरुले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु आवश्यक छैन, नजिकको प्रहरी चौकी वा प्रहरीको १०० नम्बरमा फोन गरेर पनि सम्पर्क गर्न सकिन्छ, उहाँले भन्नुभयो । दरखास्त दिएकाहरुको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १२:५६