२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जब मृगौला झिक्नका लागि होटलमा राखियो

११ चैत, काठमाडाैँ । ‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृगौला हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए ।

त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मृगौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृगौला बिक्री गर्न लागिएको भन्ने लागेपछि दुवै पीडितले प्रहरीलाई खबर गरे ।

यसरी ललाई-फकाई, आर्थिक प्रलोभन देखाई मृगौला झिक्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटियो । प्रहरी टोलीले न्यू दक्षिणकाली होटलबाट मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामालाई पक्राउ गर्‍याे । उनले बन्धक बनाएर राखेका दुई पीडितको समेत प्रहरीले उद्धार गर्‍यो । भारत लगेर मृगौला बेच्ने खोज्ने लामालाई प्रहरीले १६ फागुन राति पक्राउ गरेको थियो ।

पक्राउ परेका लामालाई थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको थुनछेक बहसपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १२:०२