२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सिद्धार्थनगरका सबै वडा कार्यालय आफ्नै भवनबाट सेवा दिँदै

१० चैत, भैरहवा । सिद्धार्थनगर नगर पालिकाले वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । १३ वटा वडा रहेको सिद्धार्थनगर नेपालकै पुरानो नगरपालिका मध्येको हो । नगरपालिकाले वडा नम्बर ७ डाडागाउँमा आफ्नै भवन निर्माण गरी सञ्चलनमा ल्याएसँगै सबै वडाको आफ्नै भवन भएको छ । वडा नम्बर ६ को भवन पनि निर्माणको अन्तिम चरणमा छ । अबको केही दिनमा सोही भवनबाट सेवा सुरु हुन्छ ।

बिहीबार नगर प्रमुख हरिप्रसाद अधिकारीले नव निर्मित भवनको उद्घाटन गरेका छन् । ६४ लाख ८ हजार ८ सय ९० रुपैयाँमा निर्मित भवन भूकम्प प्रतिरोधी रहेको छ । कार्यालयले दिने सुविधा र सेवामा थप गुणस्तरीयता आउने अपेक्षाका साथ भवन निर्माण गरिएको हो ।

भवनमा अध्यक्ष, वडा सचिव, बैठक हल, दुई वटा सटर कोठा गरी ५ कोठा रहेको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले जानकारी दिए । उनले तीन तल्लासम्म भवन पुर्‍याउने लक्ष्यका साथ बेस संरचना बनाइएको बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, वातावरण, पूर्वाधार लगायतका क्षेत्रमा नगरपालिकामा धेरै काम भएको र सहयोग पनि भरपुर भएको बताए । ‘सरसफाइमा हामीले ठूलो उपलब्धि हासिल गर्न नसके पनि नगरवासीको सहयोगमा व्यवस्थापन भएको छ । हामी सबैले आआफ्नो जिम्मेवारी बहन गरेका छौं,’ उनले भने ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १८:२१