१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

२८ साउन,बर्दिबास । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा हुनुभएको छ ।

आज मध्याह्न महोत्तरी जिल्ला अदालतमा आफैँ हाजीर हुनुभएका राज्यमन्त्री शर्माको बयान र मुद्दाको बहसपछि उहाँलाई जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले साधारण तारेखमा रिहा गरिएको हो । महोत्तरी ३ ‘क’ प्रदेशसभाबाट गत निर्वाचनमा निर्वाचित हुनुभएका शर्मालाई केही साता पहिलेमात्र मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले समाजकल्याण राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

यसअघि जनकपुर उच्च अदालतले असई बिकका परिवारजनले दिएको निवेदनमा सुनुवाई गर्दै शर्मालगायतका फरार अभियोगीलाई पक्राउ गरी अदालतमा बुझाउन प्रहरीलाई आदेश दिएको थियो । विसं २०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालय महोत्तरीमा हाजीर हुन घर बिदाबाट फर्किएका असई बिकलाई जलेश्वरमा एक्लै फेला पारेपछि त्यतिखेर आन्दोलनरत् मधेशी मोर्चाका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते बिकलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा जिल्लाको सनउखडा बस्ती नजिक आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर निर्घात कुटपिट गरी हत्या गरेका थिए । यस घटनामा प्रदेश नम्बर २ का राज्यमन्त्री शर्मासहित २८ जनालाई हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार २१:२३