२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

‘जीवित देवी’ सर्वज्येष्ठ नुवाकोटकी बाटुली लामिछाने १२० वर्षमा, ‘ह्याप्पी बर्थ डे आमा’

१० चैत, नुवाकोट । ‘जीवित देवी’को उपमा पाएकी सर्वज्येष्ठ नुवाकोटकी बाटुली लामिछाने १२० वर्षमा प्रवेश गरेकी छिन । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य नै रहेकी छिन । लामिछाने अहिले पनि बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिए दैनिकी बिताउने गरेकी छिन ।

दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउने बाहेक उहाँमा खास समस्या छैन । सेतै फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्छिन बाटुली । नजिकै आएकालाई शरीरको हाउभाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ । तर सरकारका अधिकारले निर्णायक काम गरिदिएका छैनन् ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो । नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले यसअघि घर नै बनाएर हस्तान्तरण गरिसकेको छ ।

लामिछानिका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेखको काम गर्ने गरेको बताउछन । बुहारी ईश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी बाटुलीलाइ विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकाेटबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

लामिछानेकाे बारेमा दैनिकीले यसअघि तयार पारेको भिडियो रिपोर्ट

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०८:३०