१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेडमा नेपाली सहितको फेसन प्रदर्शनी `द बुटिक´ हुँदै, स्वस्तिमा पनि सहभागी हुने

७ चैत, एडिलेड । नेपाली सहितका फेसन डिजाइनरहरुको फेसन प्रदर्शनी `द बुटिक´ यहि मे २० मा एडिलेडमा हुने भएको छ । इन्दिरा ग्रुपको आयोजनामा हुन लागेको फेसन प्रदर्शनी एडिलेडमा नेपाली समुदायबाट भएको पहिलो फेसन प्रदर्शनी हो । यसमा दुई नेपाली सहित चार डिजाइनरहरुको फेसनलाई २५ जना मोडलहरुले रैंपमा प्रस्तुत गर्ने आयोजक इन्दिरा ग्रुपका रुद्र उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार फेसन प्रदर्शनीमा नृत्य संगीतलगायत मनोरञ्जन पनि हुने र भिआइपी र जनरल गरी दुई श्रेणीका पाहुना रहनेछन् । उनले द बुटिक्स नेपाली समुदायको पहिलो ठूलो फेसन प्रदर्शनी भएको र विभिन्न जातजाति, संस्कृतिका मोडलहरू भएकाले प्रदर्शनीमा नेपालको विविधता पनि देख्न पाईने बताए ।

प्रदर्शनीमा अन्तराष्ट्रिय रुपमा नै चर्चित नेपाली डिजाइनर युवी थापाले आफ्नो कलेक्सन प्रस्तुत गर्नेछन । भने नेपाली कलाकार तथा मोडल स्वस्तिमा खड्काले फेसनका बारेमा आफ्ना अनुभव सहित मोडलहरुलाई प्रशिक्षित गर्ने इन्दिरा ग्रुपले जनाएको छ ।

गत आइतबार एडिलेडमा आयोजित एक कार्यक्रमबीच प्रदर्शनीको टिकट सार्वजनिक गरिएको थियो । कार्यक्रममा मे २० मा हुने प्रदर्शनी स्थानिय उडभिल टाउनहलमा साँझ ७ बाट हुने समेत जानकारी दिईएको थियो । दैनिकीसँग कुरा गर्दै आयोजक इन्दिरा ग्रुपका संस्थापक उपाध्यायले विगतमा आफूले सिड्नीमा गरेको प्रदर्शनीको अनुभवले पनि एडिलेडमा रहेका नेपाली मोडलहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका भएको बताए ।

उनले नेपाली सहित अन्य देशका मोडलहरु पनि हुने भएकाले तौर तरिका सिक्ने देखि घोलमेल हुने अवसर पनि भएको उल्लेख गरे । आफूले धेरै नेपाली प्रतिभाशाली मोडलहरु यस विचमा भेटाउन सफल भएकाले उहाहरुलागी कार्यक्रम राम्रो आधारभुमी हुनेमा उपाध्यायले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १७:४०