२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूमि आयोग नुवाकोटले पूर्णता पायो, विज्ञ सदस्यमा थपलिया, समाजवादीले नमान्दा जसपालाई चिठ्ठा

७ चैत, नुवाकोट । भूमि समस्या समाधान आयोग नुवाकोटले पूर्णता पाएको छ । यसअघि अध्यक्षमात्रै नियुक्त भएको नुवाकोटको आयोगमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार तीन जना सदस्य नियुक्त भएका छन । जसमा विज्ञ सदस्यमा अभिवक्ता राजाराम थपलिया, सदस्यमा शुभ्रदा नेपाल र प्रल्हाद भुजेल रहेका छन ।

अध्यक्षमा यसअघि नै नेपाली कांग्रेसका नेता अर्जुन न्यौपाने नियुक्त भएका थिए । सदस्यमा नियुक्त भएका थपलिया र नेपाल माओवादी कोटा र भुजेल जनता समाजवादी पार्टीको तर्फबाट रहेका छन । नेकपा एकीकृत समाजवादीले अध्यक्षमै दाबी गरेकाले सदस्य अस्वीकार गरेको स्रोतले जनाएको छ ।

उसले अध्यक्ष नपाएकाले सदस्य अस्वीकार गरेको कांग्रेस स्रोतले जनाएको छ । यसअघि नेकपा एमालेको तत्कालीन सरकारले जिल्ला भूमि आयोगमा मन्त्रिपरिषद्बाट तीन जनामात्र नियुक्त गरेको थियो । तर अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले चार सदस्य आयोग बनाएको छ ।

एमालेको तत्कालीन सरकारले अध्यक्षमा विन्दा ढुंगाना, विज्ञ सदस्यमा बलराम आचार्य र सदस्यमा नारायण घिमिरेलाइ नियुक्त गरेको थियो । तर विदुर नगरपालिकामा मेयर सञ्जु पण्डितले निहुँ खजेर आयोगसँग द्धपक्षीय सहमति गर्न ढिलागरेपछि परिणाम दिनेगरी काम गर्न सकेको थिएन । अहिले आयोगमा तीन पार्टीका प्रतिनिधि सहभागी भएकाले यसले पनि परिणाम दिनेमा भने शंका नै रहेको छ ।

जिल्ला आयोगको अध्यक्षमा नियुक्तले सहसचिव सरह र सदस्यहरूले उपसचिव सरहको तलव र भत्ता प्राप्त गर्ने गरेका छन । यसको सदस्य सचिवको रूपमा जिल्ला समन्वय अधिकारीले काम गर्ने गरेका छन । सरकारले पटक पटक भूमि सम्बन्धी समस्या समाधानका लागि यस्ता संरचना बनाए पनि समस्या भने ज्यूँकोत्यूँ रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १६:०१