२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बेलकोटगढीको भवन निर्माण डिपिआर अन्तिम चरणमा

७ चैत, नुवाकाेट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन भएको कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको बताए ।

डिपिआरको काम सक्नासाथ ठेक्का लगाउन बजेट व्यवस्थापनमा नगरपालिका लागिपरेको छ । उनले भने, “डिपिआर बमोजिम बनाउन सकेसम्म आसन्न स्थानीयतहको निर्वाचन अघि ठेक्का सम्झौता गरेर शिलान्यासको तयारी छ ।” बाघखोरमा सरकारी जग्गामध्ये नगरपालिकालाई आवश्यक २४ रोपनी जग्गा प्राप्त गर्न जिल्लास्थित विभिन्न निकायको सिफारिससहित मन्त्रिपरिषद्बाट स्वीकृत गराउन तीन वर्ष लाग्यो । नगरपालिकाको कार्यालय विपद्को कारण जोखिममा परेका बासिन्दालाई पुनःस्थापनार्थ बनाइएको प्रिफ्याक भवनबाट चलिरहेको छ ।

सो भवनमा पर्याप्त कोठा छैन । भएका पनि साँघुरो हुँदा कामकाज र सेवा प्रवाहमा समस्या छ । नयाँ भवन निर्माण चाँडो सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले बताए । भवन बनाउन नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत काम सुरु गर्न यो आर्थिक वर्षमा रु दुई करोड ५० लाख बजेट छुट्याएको छ । “जग्गा प्राप्तिको प्रक्रियाले भवन निर्माण ढिलो भए पनि अब चाँडो काम थाल्न लागेका छौँ,” खतिवडाले भने, “भवन बनाउन सङ्घीय मन्त्रालयले ५० प्रतिशत बजेट उपलब्ध गराउने जनाएकाले बाँकी नगरपालिकाले व्यवस्थापन गरेर ठेक्काको तयारीमा छाैँ ।”

आठ वडा भवन बने

विभिन्न छ गाविस मिलेर बनेको बेलकोटगढी नगरपालिकामा हाल १३ मध्ये आठमा नयाँ भवन बनिसकेको छ । दुई निर्माणको प्रक्रियामा छ । नगरपालिकाको भवन बनाउन जग्गाको समस्या देखिए जस्तै वडा कार्यालयलाई पनि जग्गा अभावले समयमै सबै वडामा भवन बनाउन कठिन भएको खतिवडाले बताए ।

जग्गा प्राप्त भएका स्थानमा बनाउँदै जाने क्रममा हालसम्म आठवटा वडामा नगरपालिकामार्फत बहुविपद् प्रतिरोधात्मक सुविधासम्पन्न भवन बनेको छ । “भाडाको घरमा रहेको वडा नंं १ को कार्यालयलाई जग्गा प्राप्त भएकाले भवन बनाउन ठेक्का लगाउन लागिएको छ । वडा नं ७ को भवन बनाउन ठेक्का निकालिएको छ”, उनले भने, “वडा नं ८, ११ र १३ को वडा कार्यालय भवन बनाउन जग्गा अभावले रोकिएको छ ।”

राज्य पुनःसंरचनापश्चात् नयाँ स्वरुपमा काम गर्दा भौतिक पूर्वाधारको अभाव थियो । उक्त समस्या समाधानका लागि नगरप्रमुख खनाल र उपप्रमुख कविता ढुङ्गानाले वडा र पालिकाको भवन बनाउने लक्ष्य लिएको भए पनि जग्गाको समस्याले लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । “बजेट छुट्याएर मात्रै भवन बनाउन कठिन रहेछ । जग्गा व्यवस्थापन नुहँदा सबै वडामा भवन बनाउन सकिएन”, उपप्रमुख ढुङ्गानाले भनिन्, “हालसम्म दशवटा भवन निर्माणको प्रक्रियामा समावेश भइसकेका छन्, बाँकी तीनवटा वडा कार्यालयका लागि दाताबाट जग्गा जुटाउने प्रयास जारी छ ।”

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १३:०९