२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बाँच्नका लागि सेक्स वर्कर बनेका पूर्व लडाकु मैले भेटेको छुः डा भट्टराई (भिडियो)


६ चैत, काठमाडौँ । तत्कालीन’ माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बाँच्नका लागि सेक्स वर्कर बनेका पूर्व लडाकु आफैँले देखेको र भेटेको बताएका छन । गायक प्रकाश सपुतको पीर गीतले जीवन जीउनकै लागि पूर्व लडाकु शरिर पनि बेच्न बाध्य छन भन्ने सन्देश सार्वजनिक गरेपछि अनेक टिकाटिप्पणी भैरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले यसका बारेमा आफूले खोजी समेत गरेको बताएका छन ।

गीत विवादित बनेर गायक सपुतले भने भिडियोबाट उक्त सिन झिकेर मिल्काएका छन भने नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन । सपुतले गीत परिवर्तनको गरेको २४ घण्टा नबित्दै टिकटकमा सोभिता सिंखडाले डा भट्टराईले पूर्व लडाकुले दुःख पाइरहेको र आफूले नै देखेको बताएको भिडियो सार्वजनिक भएको हो ।

ओशो तपोवनमा स्वामी आनन्द अरूणसँगको कुराकानीमा डा भट्टराईले भनेका छन, ‘कतिपय लडाकुहरू छन तिनीहरू चाहिँ सेक्स वर्कर भएर बसेका छन, मैले देखेको छु, लुकाएर हुन्छ यहाँ ? त्यस्तो थाहा पाएपछि मैले अध्ययन पनि गरेँ । मैले प्रत्यक्ष भेटेँ पनि । एक जनाले त आफ्नो लोग्नेको उपचारका लागि केही उपाय नलागेपछि सेक्स वर्कर भएर उपचार गरेको पाएको छु ।’

यता धम्कीको सामाना गर्न नसकेपछि प्रकाशले भने आफ्नो कलामा कैँची लगाइसकेका छन । माओवादी नेतृत्व र कार्यकर्ताले भने चुनावमा आफूहरूको भोट कटाउती हुने भन्दै भिडियो हटाउन माग गरेका थिए । कतिपयले त भिडियो नहटाए सपुतलाई भौतिक कारबाही गर्ने सम्मको चेतावनी दिएका थिए ।

माओवादी आन्दोलनमा लागेका र जनयुद्धमा अंगभंग भएकाहरूले बाँच्नकै लागि यस्तो संघर्ष गर्नुपरेको भए पनि चैते भनिएका माओवादीहरू भने रातारात करोडपति भएका छन । लडाकुकै नाममा शिविरमा समेत करोडौँ घोटला भएको विषय नेताहरूले यसअघि नै सार्वजनिक रूपमै उठाइसकेका छन । हुनतः प्रचण्डले समय समयमा माओवादी आन्दोलनको औचित्य सकिएको बताउने गरेका छन । शायदः यस्तै घटनाक्रमहरूले  अध्यक्षमा पनि विचलन देखिएको हुनसक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार २१:२९