१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भ्रष्टाचारमा डुब्यो काभ्रेको मण्डनदेउपुर, अख्तियारले सोध्यो नाै प्रश्न

४ चैत, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका भ्रष्टाचारमा डुबेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका काभ्रे जिल्ला अध्यक्ष समेत रहेका मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाको कार्यशैलीले नगरपालिका भ्रष्टाचारमा डुबेको देखिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरीपछि नगरपालिकाको कार्यालयलाई पत्र लेख्दै ९ प्रश्नको जवाफ माग्दै कार्यालयको कागजात समेत नियन्त्रणमा लिएको छ ।

अख्तियारले अहिले नगरपालिकाको सबै कामको छानविन गरिरहेको छ । आयोगले २०७८ बैशाख २३ मा नगरको नाममा गोप्य पत्र लेख्दै नगर प्रमुखको छोरा सुरेश वाइबा प्रोपाईटर रहेको आरम्भ कन्सट्रक्सन प्रा।लि।लाई बिभिन्न निर्माणकार्य गर्न दिँदाको सबै कागजपत्र मागेको पाइएको छ । अख्तियारले विवरण मागेको धेरै अघि भए पनि गोप्यपत्र चाहिँ अहिलेमात्रै सार्वजनिक भएको छ । आयोगको पत्रमा योजना स्विकृती, विनियोजित बजेट, लागत अनुमान, खरिद प्रकियासंग सम्बन्धित कागजातहरु मागिएको छ ।

सबैजसो पालिकामा मेयर र वडा अध्यक्षहरूले कि त डोजर किन्ने कि कम्पनी दर्ता गर्दै आफैँ काम गर्दै आएका छन । कतिपय पालिकाहरूले त १० लाखको काम पनि निर्माण कम्पनी मार्फत गर्नुपर्ने नीति अख्तियार गरेका छन । आफू र आफू निकटका निर्माण व्यवसायीलाइ काम दिने र कमिसन लिने कामका लागि पालिका प्रमुखहरूले यस्तो गरेका हुन । विविध शीर्षकमा पालिकाहरूमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । यद्पी आयोग सबै भ्रष्टाचारमा निगरानी बढाउन सकेको छैन ।

नगरपालिकालाई अख्तियार दुरूपयोग अनुसन्धान अयोगले लेखेको अत्यन्त जरूरी र गोप्य पत्र ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १०:५०