गोविन्द केसीकै लयमा रेशम चौधरी, कारागारमा २३ कैदीसँग सुरु गरे अनशन
२० फागुन, काठमाडौँ । टिकापुरको घटनाका मुख्य अभियुक्त रेशमलाल चौधरीसहित २४ जना गोविन्द केसीकै शैलीलमा आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए । अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् ।
उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वा्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए ।
घटना भएको झण्डै ३० महिनापछि यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित (आत्मसमर्पण) गरेका टीकापुरकाण्डका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार रहेका थिए ।
प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २१:५८