२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छः सञ्चारमन्त्री कार्की

२१ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आज यहाँ बोल्दै सञ्चारमन्त्री कार्कीले सङ्घीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनुभएको हो ।

“निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो । सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १६:२४