२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरे : महामन्त्री शर्मा

१९ फागुन, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे । “म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ”, महामन्त्री शर्माले भन्नुभयो, “जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।”

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे ।

महामन्त्री शर्माले भने, “हुन त ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, अझै मिडियासँग अन्तर्वार्ता दिँदै हातका औँला हल्लाउँदै ओलीजी भन्नुहुन्छ, ‘एक्लै–एक्लै आऊ, नसके सबै मिलेर आऊ, एमाले भिड्न तयार छ’, यो कस्तो दादागिरी शब्द चयन हो ?” जनताले स्थिर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उनले बताए ।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो । “आज पनि बूढानीलकण्ठ गा’को छ, भोलि पनि त्यहीँ गा’को छ, हो न हो पानीमाथि सुतिरहनुभएको बूढानीलकण्ठको दर्शन गर्न जानुभयो होला भनेको त, उहाँहरु त सुतिरहेको बूढानीलकण्ठभन्दा अलि तल बसिरहेको बूढानीलकण्ठमा पो धाएर हजुर सरकार चलाइदिनुप¥यो भनेर सरकार बुझाउन पो जानु भएको रहेछ”, महामन्त्री शर्माले भने, “यदि जनताले बहुमत नै दिए पनि बूढानीलकण्ठमा लगेर सरकार बुझाउनुपर्छ भने सिधै कांग्रेसलाई नै रोजे भैगयो नि !”

उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए । एमसिसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उहाँले एमसिसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे ।

“बानेश्वरको सडकमा एमसिसी मूर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, फेसबुकमा नो एमसिसी लेख्नेको दोष छैन, जसले यो एमसिसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो”, उनले भने, “कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो । तर, उहाँहरू नै हो, बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।”

एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसिसी सम्झौता संसद्मा दर्ता गराउनुभएको हो भन्दै उनले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसिसी मूर्दावाद नभन्नु, एमसिसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसिसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राखे ।

चुनाव अगाडि एमसिसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भने, “कांग्रेसलाई चुनावपछि मात्रै एमसिसी पास गरौँ भन्ने प्रस्ताव आएकै हो, ए बाबा, अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनावपछि गर्दा राष्ट्रघाती नहुने यो कस्तो कुरा हो ? राष्ट्रघात हो भने त चुनावअघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो । त्यसैले कांग्रेसले राष्ट्रघात हुने काम गर्दैन ।”

एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले त्यस्ता युवाको भविष्य पनि हेरेको दाबी गर्दै उनले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताए । नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको विकासमा लगाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवानेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने गरी कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १८:३२