१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नारी निकुञ्ज अष्ट्रेलियाले नेपालमा महिलाहरुका लागि अस्पताल निमार्णमा सहयोग गर्ने

१९ फागुन, अष्ट्रेलिया । गैर आवासिय नेपाली संघ अष्ट्रेलिया अन्तर्गतको नारी निकुञ्ज अष्ट्रेलियाले दोलखा सदरमुकाम चरिकोटमा निर्माण हुन लागेको महिला तथा बालबालिका अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ ।

नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले यस बर्षको नारी दिवसमा आर्थिक संकलन गरेर अष्ट्रेलियन्स फर वुमन्स हेल्थले दोलखा सदरमुकाममा निर्माण गर्न लागेको महिला तथा बालबालिका अस्पताललाई सहयोग गर्ने बताउनु भयो ।यसै क्रममा निकुञ्जले अन्तराष्ट्रिय नारी दिवसको उपल्यक्षमा आगामी मार्च ५, शनिबारका सिड्नीको रकडेल स्थित इन्द्रेणी फनसन सेन्टरमा बिहान १० बजे देखि एक कार्यक्रम आयोजना गर्ने भएको छ । खड्काले निकुञ्जले कार्यक्रम यस वर्ष अष्ट्रेलियन्स फर वुमन्स हेल्थ र रोटरी पासपोर्ट मेलबर्नसंगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा नेपालको दुर्गम क्षेत्रका महिलाहरुको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको अष्ट्रेलियन्स फर वुमन्स हेल्थका डा. रे हटसन ले नेपालका दुर्गम क्षेत्रका महिलाहरुको स्वास्थ्य सम्वन्धी अवस्थाको वारेमा सहभागी विचमा प्रकाश पार्नु हुने निकुञ्जले जनाएको छ |

‘हाटब्रेक इन द हिमालयज’ नामक पुस्तक मार्फत नेपालका महिलाहरुको अवस्था वारे विश्व बौद्धिक क्षेत्रको ध्यान आकर्षण गर्न सफल डा रे ले आफ्नो सो पुस्तक समेत विक्री गरेर सो रकम समेत अस्पतालको सहयोग कोषलाई दिनु हुने भएको छ । यसै गरि नारी निकुञ्जले डाक्टर रे को पुस्तक अन्य राज्यहरुको सार्वजनिक कार्यक्रममा समेत विक्रि गरेर अस्पताल निर्माणका लागि रकम संकलन गर्ने भएको छ ।

यस बर्षको नारी दिवसको मुल नारा नारा `ब्रेक द वायस´ साथमा मनाउन लागिएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली का वा दुतावास , सिड्नीका मेयर तथा काउन्सिलर सहित एनआरएनए लगायतका नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा हुने आयोजकले जनाएको छ । संयोजक खड्काले यसपटक अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘ब्रेक द बायस’ लाई साकार पार्नका लागि नेपाली समाजमा कति महिलाहरु आङ खस्ने लगायतका विभिन्न यौन तथा प्रजनन रोगहरुबाट पिडित भएर सहज रुपले उपचार नपाईरहेको कतिपय अवस्थामा त्यही कारणले घर परिवार तथा समाजबाट अपहेलित पनि हुनुपरेको वताउदै यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिकाका लागि निर्माण हुने विशेष अस्पतालका लागि सहयोग गर्ने निर्णय गरेकाको बताउनु भयो ।

विगतमा नेपालको अछाम लगायतका दुर्गम क्षेत्रमा महिला मैत्री शौचालय निर्माण लगायत महिनावारिमा प्रयोग हुने प्याड नि शुल्क वितरणको अभियान चलाएको निकुञ्जले दोलखामा निमार्ण हुने अस्पतालको सहयोग जुटाउन मार्च महिनामै साउथ अष्ट्रेलियाको एडिलेड, समेत कार्यक्रम गर्ने भएको छ । भने केहि समय अगाडि वेस्टर्न अष्ट्रेलियामा समेत अस्पताल निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । यसै विचमा नारी निकुञ्ज भिक्टोरियाले महिला उद्यमी महिलाहरुको सम्मान कार्यक्रम गर्ने संयोजक खड्काले बताउनु भयो ।

दैनिकी संग कुरा गर्दै संयोजक खड्काले नारी निकुञ्जले अष्ट्रेलियामा रहेका नेपाली महिलाहरुलाई शसक्तिकरण गर्नका लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्नुका साथै मातृभुमिमा खास गरि दुर्गम क्षेत्रका महिलाहरुलाई सहयोग गर्ने कार्यक्रमहरु अगाडि बढाएको बताउनु भयो । उहाले सहयोग कार्यक्रमहरु मार्फत प्रवासमा रहेका महिला र नेपालमा रहेका महिलाहरु भावनात्मक रुपमा जोड्ने वताउनु भयो ।

शहरी भेगबाट अष्ट्रेलियामा अध्ययनका लागि आएर यतै बसोबास गरेको पुस्ताले कल्पना पनि गर्न नसक्ने पिडा भोगी रहेका दुर्गम क्षेत्रका आमा दिदी बहिनीलाई सहयोग गर्नु मातृभुमी प्रतिको उत्तरदायित्व पनि खड्काले बताउनु भयो । उहाले हामीले सानो सहयोग गर्दा नेपालमा हाम्रा दिदी बहिनी आमाहरुलाई स्वस्थ रहन ठुलो सहयोग हुने भएकाले यस बर्षको कार्यक्रमबाट अस्पताल नै निर्माणको अभियानमा लागिएकाले अभियानमा साथ दिन सबै अष्ट्रेलियावासी नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १४:५०